भारतीय सिमानामा अलपत्र म्याग्देली धमाधम फर्किन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नाका बन्द गरेपछि नेपाल–भारतको सिमानाबाट नेपालमा प्रवेश गरेकाहरू फर्किन थालेपछि म्याग्दी बहुमुखी क्याम्पसमा समेत थप क्वारेन्टाइन बनाउन सुरू गरिएको छ ।

करिब २ महिनासम्म सिमानामा एकै ठाउँमा बसेकालाई स्थानीय तहसँग समेत समन्वय गरी न्यू वेष्ट प्वाइन्टको क्वारेन्टाइनमा राखिने र अपुग भएमा म्याग्दी बहुमुखी क्याम्पसमा निर्मित क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षणका लागि स्बाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । ‘भारतबाट फर्किनेको लर्को लागेको छ,‘अवको क्वारेन्टाइन बसाईलाई थप ब्यवस्थित गर्ने प्रयासमा छौ’ प्रजिअ ढकालले बेनीअनलाइनलाई भन्नुभयो ।

फर्किएकोको नियमित स्वास्थ्य परीक्षण सहित प्रादेशिक प्रयोगशालामा समेत स्बाव पठाइने भएकाले सदरमुकाम बेनीकै क्वारेन्टाइनमा सहज हुने भएकाले म्याग्दी बहुमुखी क्याम्पसमा निर्मित क्वारेन्टाइनमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले सरसफलाई सहित ब्यवस्थापनमा आवश्यक सहयोग गर्ने जनाइएको छ ।

हाल वेष्ट प्वाइन्टको क्वारेन्टाइनमा नौतनवाबाट आएका १० जना सहित ११ जना छन भने झापा जिल्लाबाट ८ जना, कञ्चनपुरबाट १०, गौरीफन्टा नाकाबाट २९ जना सहित हालसम्म करिब ६० जना सिमा क्षेत्रबाट सम्पर्कमा रहेका छन् । भारतबाट फर्किनेको संख्या करिब दुई सय हुने अनुमान गरिएको छ ।यसैबीच भारतको डिल्ली गएर फर्किने बेलामा हरिद्धारमा समेत मंगला गाउँपालिका वडा नं ३ र ४ का यूवाहरु अलपत्र परेका छन् ।

भारतमा रोजगारी तथा घुम्न गएकाहरु भारतको मुम्बई, दिल्ली, राजस्थान लगायत विभिन्न स्थानमा लामो समयदेखि अलपत्र परेका थिए । पछिल्लो समय भारतबाटै फर्किएकामा धमाधम कोरोना देखिएको अवस्थामा जिल्लामा समेत उच्च सर्तकता सहित आवश्यकत तयारी गरिएको छ ।

Leave a Reply