बेलायती सेनाका रिटार्यड लेफ्टिनेन्ट राजु पुनले म्याग्दी जिल्लाको प्रख्यात धार्मिकस्थल खयर भारानी थानको चिनारी झल्काउने पुस्तक ‘खयर भारानी’ लेखेका छन् । भारानीको महिमा प्रचार गरेर धार्मिक पर्यटन बढाउने उद्देश्यले पुस्तक लेखिएको हो ।

अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारको शिरमा बसेकी भारानी प्रख्यात शक्तिपीठ हुन् । उनीसँग मागेको वर पूरा हुने विश्वासले बर्सेनि जनै पूर्णिमाका दिन त्यहाँ मेला लाग्छ । पुस्तकमा खयर भारानीको महिमा, पूजाविधिका साथै भौगोलिक, ऐतिहासिक र सांस्कृतिक पक्षको जानकारी दिइएको छ । यसरी पुस्तक भारानी क्षेत्र घुमफिर गर्नेहरूका लागि ‘गाइड बुक’ बनेको छ ।

मेला भर्न मात्र होइन, अचेल अरू समयमा पनि पर्यटक खयर क्षेत्रको पदयात्रा गर्छन् । पर्यटक माझ ‘खोपारा टे«क’का रुपमा यस क्षेत्रको ब्राण्डिङ गरिएको छ । नेपाली भाषामा छापिएको पुस्तकलाई अंग्रेजीमा अनुवाद गरेमा विदेशी पर्यटकलाई समेत सहयोग पुग्ने देखिन्छ ।

पुस्तक खयर भारानी थान तथा संरक्षण क्षेत्र कोषले प्रकाशन गरेको हो । ‘खयर भारानीको महिमा जति प्रचार भयो उति पर्यटक बढ्छन् । धार्मिक पर्यटनबाट तीर्थालुको मनोकामना पूरा हुनुका साथै खयर क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्छ’, लामो समयदेखि भारानीको सेवामा समर्पित अध्येता पुन भन्छन्, ‘त्यसैले आमा भारानीको प्रचारमा सघाउन पुस्तक लेखिएको हो ।’

आवश्यक पूर्वाधार विकास गरी खयर क्षेत्रलाई व्यवस्थित बनाउन पाउद्वारीहरूले २०७२ सालमा कोष गठन गरेका हुन् । भारानी थानसम्मको यात्रा सजिलो बनाउन कोषले पूर्वाधार विकासका काम गर्दै आएको छ । कोषले भारानी थानको पुनः निर्माण, गोर्से भारानी र काली भारानी थान निर्माण, बाटो निर्माण, भक्तजनलाई बस्न खयर खोला र खोपारामा टहरोका साथै शौचालय निर्माण गरिएको छ । पुस्तकमा ती कामको पनि संक्षिप्त चर्चा गरिएको छ ।

Leave a Reply