ज्यामरुककोटका ऐतिहाँसिक सम्पदासंग जोडिदै विकास : उज्यालिदै इतिहाँस

0

मल्लकालीन विरासत बोकेको म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वले युक्त खड्भवानी कोत परिसरका ऐतिहाँसिक सम्पदाहरु विकाससंग जोडिन थालेका छन् ।
समुद्री सतहदेखि १ हजार ६ सय ४८ मिटर उचाइमा रहेको करिब ६ सय वर्ष पुरानो इतिहाँसको आँखी झ्याल मानिने ज्यामरुककोटको ऐतिहाँसिक,पुरातात्विक र पर्यटकीय महत्वलाई उजागर गर्नका लागि वडाकार्यालयले धमाधम पूर्वाधार निर्माणका काम थालेपछि सम्पदाहरु विकाससंग जोडिन थालेका हुन् ।

१५ औें शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्धेश्यले बेनी नगरपालिका र वडा कार्यालयले पुर्वाधार निर्माणमा तिव्रता दिएको वडाअध्यक्ष हिराबहादुर थापाले बताउनुभयो । अध्यक्ष थापाका अनुसार यहाँ मल्ल कालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरु समेत रहेका छन् ।

अध्यक्ष थापाका अनुसार ज्यामरुककोटलाई धार्मिक,प्राकृतिक र ऐतिहाँसिक महत्वको संगम स्थल बनाउने प्रयास गरिएको छ । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा गतबर्ष २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३ सय ५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको थियो ।

यसबर्ष नगरपालिकाको पर्यटनतर्फबाट ५ लाख र वडा कार्यालयको २ लाख विनियोजित बजेटबाट कोत परिसरमा २ सय १० मिटर घेराबार , दुई सय मिटर बाटो ढलान,पटाङ्गीनि निर्माण,नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

विक्रम सम्वत १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका ज्यामरुककोटमा थापा राजाहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना वनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ ।

४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरवारलगायतका हातहतियार, प्राचीन शिला र इँट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहाँसिक प्रमाण स्वरुप अझै पनि आकर्षणका रुपमा रहेका छन् ।पुर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको ऐतिहासिक स्थलमा पछिल्लो समय वडा कार्यालयले देखाएको सक्रियता प्रशंसनीय रहेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

ऐतिहाँसिक ज्यामरुककोटलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास आफू प्रतिबद्ध रहेको वडाअध्यक्ष थापाको भनाइ छ । वडाअध्यक्ष थापाले खड्गभवानी कोतलाई गलेश्वर र पञ्चकोट सँग जोड्ने पदमार्ग निर्माण गर्ने योजनासहित पुर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । पुरातात्विक र ऐतिहासिक महत्वको ज्यामरुककोटबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण लगायतका दर्जनौ हिमाल, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौ ग्रामिण बस्ती देखिन्छ ।

गुरुयोजनासहित धार्मिक पर्यटकियस्थलको पुर्वाधार र प्रचारप्रसार गर्न नगरपालिका, वडा र स्थानीयबासीको सक्रियता देखाउन सके ग्रामिण भेगमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनले स्थानीयलाई होमस्टे संचालनमा टेवासंगै रोजगारी सिर्जना हुने प्रशस्त सम्भावनाहरु रहेका बगरफाँटका विष्णु शर्माले बताउनुभयो ।

यस्तो छ ज्यामरुककोटको इतिहाँस
विसं १५७२ मा ज्यामरुककोटका अन्तिम मल्ल राजा भर्तिवम मल्ललाई आफ्नै सौतिला दाजु एवम् तत्कालिन पर्वतेराजा मलेबम मल्लले आक्रमण गरेर ज्यामरुककोट कब्जा गर्न खोज्दा “दिए पनि खान्न, धपाए पनि जान्न, ज्यान गए जाला,ज्यामरुककोट छोड्िदन” भनेर अड्डि लिएपछि ज्यामरुककोट हत्याउन दाजु मलेबमले भाइ भर्तिवम मल्लको हत्या गरेका थिए ।

ज्यामरुककोट मल्लकालदेखि नै प्राकृतिक रुपले अत्यन्त सुन्दर, सामरिक रुपले सुरक्षित र आर्थिक रुपले सम्पन्न राज्य थियो ।यस्तो राज्यमा अरु राजाहरुको आँखा पर्नु र आक्रमण गरेर जित्न खोज्नु त्यतिवेलाको राजनीतिक मान्यता नै थियो र स्वभाविक पनि थियो । तर, राजा भर्तिवमले आफ्नो गर्विलो राज्य छोड्न कतै तयार भएनन् । तर, समय फेरियो । देशमा ठुलाठूला राजनीतिक परिवर्तन भए । राजतन्त्रको अन्त्यसंगै गणतन्त्रको उदय भयो ।

गणतन्त्रसंगै संघीयता आयो । आफ्नै स्थानीय तहमा रहेका स्रोतहरुबाट आम्दानी गर्नु पर्ने अवस्थामा पनि पर्यटन र पुरातात्विक महत्वको ज्यामरुककोटलाई नगरपालिका र वडाले आम्दानीको माध्यम बनाउन नसकिरहेको अवस्थामा पछिल्लो समय वडा कार्यालयले ज्यामरुककोटलाई उजिल्याउने प्रयास गरेको धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

प्राकृतिक सुन्दरताले पनि युक्त छ ज्यामरुककोट
सदरमुकाम बेनीबजारदेखि करिव ४ किलोमिटरको दुरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि,निलगिरि,अन्नपूर्ण,माछापुच्छ«े लगाएत १५ वटा भन्दा बढि हिमश्रृङखलाहरुको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० वटा भन्दा बढि गाउँहरु, सुर्योदय, ग्रामिण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिने वडाअध्यक्ष थापाको भनाइ रहेको छ ।

ज्यामरुककोटको इतिहाँस १५ औं शताव्दीको विरासतसंग जोडिएको छ । १५औं शताव्दीको प्रारम्भसंगै थापाहरुले राज्य गर्नथाले पछि अस्तित्वमा आएको ज्यामरुककोटमा रहेको (खड्गभवानी कोत)का दुर्लभ हातहतियार र अभिलेखहरुले यसको ऐतिहाँसिक महत्वलाई स्पष्टसंग बुझाएका छन् । सो कोतमा ५ सय ७४ वर्ष पहिलेका मल्ल र थापा राजाहरुका अभिलेख रहेका छन् ।

वडा कार्यालयदेखि पैदल आधा घण्टाको दुरीमा रहेको सो स्थानमा थापा र मल्ल राजाहरुको ताम्रपत्रमा अंकित इतिहाँस,तोप , खुडाँ,तरवार लगाएतका हातहतियार, प्राचिन शिला र इट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले पनि देख्न सकिने बेनी नगरपालिका २ का वडा सचिव राजाराम शर्माले बताउनुभयो ।

कोटडाँडोसम्म मोटरबाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यको बारेमा प्रचारप्रसार गर्न सक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटकहरु त्यहाँ पुग्न सक्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

बिकाससंग जोडिए सम्पदा
“ज्यामरुककोट एउटा ऐतिहाँसिक र प्राकृतिक सुन्दरताले युक्त सम्पदा भएपनि विकासको सहज पहुँच नहुदा पछाडी परेको थियो” पर्यटन क्षेत्रका जानकार बानियाँले भन्नुभयो “बेनीदेिख भकुण्डेसम्म मोटरबाटोको सुविधा र भकुण्डेदेखि खड्गभवानी कोटसम्म पुग्न पदमार्ग निर्माण भएपछि धेरै सहज भएको छ ।”बानियाँका अनुसार अब २÷४ वटा स्तरीय होटल एवम् रेष्टुरेण्ट निर्माण गर्न सक्ने हो भने सयौं विदेशी पर्यटकहरु यहाँबाट हिमाल,नदी,गाउँ र सुर्योदयको अवलोकन गर्न आउँन सक्छन ।

त्यस्तै वडा कार्यालयको पछाडी पट्टी रहेको ऐतिहाँसिक राजकुवालाई संरक्षण र व्यवस्थापन गरी पम्पिङ वा लिप्mट प्रविधिमार्फत त्यहाँको पानी खड्ग भवानी कोत परिसरमा लगेर स्विमिङ पुल .(पौडी पोखरी) बनाउने र त्यसको नजिकै स्तरीय रेष्टुरेन्ट संचालन गर्न सकिने सम्भावना रहेको भएपनि त्यतातर्फ कसैको ध्यान जान नसकेको जिल्लाको सरोकारवालाहरुले बताउँदै आएका छन् ।

जैविक विविधता र आग्र्यानिक उत्पादनको गाउँ
त्यसैगरी ज्यामरुककोट जैविक विविधताले पनि सम्पन्न रहेको छ । “आग्र्यानिक खेती, ठूलाखोलाबाट ल्याइएको चीसो पानी, विभिन्न पंक्षी, मह, भटमास, कालोदाल, स्थानीय जातका खसी,कुखुरा र हाँस, चिबे, कालिज र तित्रो, बनढुकुर र बन कुखुरो, तरुल,भ्याकुर र शखरखण्ड यहाँ प्रशस्त मात्रामा पाइन्छन् । जै,कोदोबाट बनाइने विभिन्न परिकारहरुले यहाँको पहिचान झल्काउँछन्” वडाअध्यक्ष थापाले भन्नुभयो ।

Leave a Reply