आज विहान खुल्लामञ्चमा म्याग्दीका पूरानो र पहिचानमा रहेका एकमात्रै गन्धर्ब लालबहादुरले हसिलो अनुहारमा तीनवटा गित गाए ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सरकारले जारी गरेको लकडाउनको तेस्रो दिने बेनी नगरपालिका–७ विरेन्द्रचोकमा भेटिएका लालबहादुरको बुढेशकालमा दम लगायत विभिन्न रोगबाट ग्रसित भएकाले स्वर समेत सुकेको बताएका थिए ।

उनले सारंगीका तारहरुमा रेट्ने बाहेक सारंगीको धुनमा स्वर मिलाउन सक्ने थिएनन् । स्वर हराएको भन्दै उनले मुसुक्क हाँस्दै सारङ्गी रेट्ने गरेका थिए । लकडाउनको दुई महिनाको अवधिमा धेरैपटक बजारभित्र र खुल्लामञ्चमा भेटिएका लालबहादुरको स्वर सुन्न सकिएको थिएन्। शारीरिक उमेरले ८४ नाघे पनि उनको हातमा सारंगी भने टुटेको छैन् ।


लकडाउन सुरू भएको तेस्रो दिन अर्थात २०७६ चैत्र १३ गते बेनीको बिरेन्द्रचोकमा खिचिएको लालबहादुर । तस्वीर हरिकृष्ण

म्याग्दीका सहरबजार देखि ग्रामिण क्षेत्रमा सारङ्गी रेटेर ६ दशक विताएका लालबहादुरका बारेमा बेनीअनलाइनमा प्रकाशित हुने हरेक समाचारमा बाल्यकालमा घरमै भेटेको जस्ता प्रतिक्रियाहरू समेत प्रसस्तै भेटिन्छन् । दुख, पीडा, हाँसो, खुशीदेखि युद्ध र लडाईमा होमिएका छोरा, श्रीमानको कथा दुख–दर्दलाई सुरिलो स्वर र सारंगीका तारहरुमा रेट्दा धेरैले उनकै आँखा अगाडी आँसु बगाएका थिए । उनले पञ्चायती शासन बिरुद्धका गीत, नब्बे सालको भूइँचालो, दोस्रो जनआन्दोलन जनपक्षीय गीतबाट समेत समुदायलाई साथ दिएका थिए ।

२०७७ जेठ ११ गते आइतबार खुल्लामञ्चमा । तस्वीर हरिकृष्ण

गाईने लाले आए भनेपछि मेलापात, घरायसी काम समेत छोडेर सारंगीको धुनमा उनले मिसाएको शब्द सुन्नको भीड नै लाग्थ्यो । पीडाले घेरिएका गीत सुन्ने जोकोहीका आँसु रसाउँथे । बुढो भए, शरीरले साथ दिएन्, भएको स्वर पनि गुम्ने अवस्थामा पुग्यो, श्रीमतिले संसार छोडेर गईन्, भारतमा रहेका छोराले बेवास्ता गरेपछि विगतमा घरदैलोमा गीत गाउँदै हिड्ने शब्दहरूको जालोमा आफैं फसेका छन् ।

दुखकष्ट र एउटा सारंगीलाई साथी बनाएर बाँचिरहेका लालबहादुरको मंगलबार महिनौंदेखि लगाइरहेको शरीरको लुगा परिवर्तन भयो, धेरै महिनापछि सावुनपानीले नुहाउन पाए, नयाँ लुगामा चिटिक्क मात्रै देखिएनन् बेनीको बजार, लाहुरेको पीडा झल्किने गीत गाए ।

विगत दुईमहिनादेखि नजिकै बस्दै आएका भारी बोक्ने प्रेम थापाले पहिलोपटक लालबहादुरको गीत सुनेको बताए । हसिलो अनुहारमा गीत गाइरहेका लालबहादुरलाई रोक्न खोज्दा समेत रोकिएनन् । असाधारण गायन क्षमताका धनी लालबहादुरले स्वर र धुनले खुल्लामञ्चमा रहेका सबैको ध्यान तान्यो ।

’खोई आज यो स्वर कताबाट फर्कियो,ज्यान पनि हलुङ्गो भएको छ’ लालबहादुरले भने । १८ बर्षको उमेरमा गन्धर्ब पेशामा प्रवेश गरेका उनले भारतमा रहेका छोरालाई बेलाबेलामा सम्झिन्छन् । छोरासँग साइनो जोड्न आएका बुहारीका बारेमा उनीसँग केही शब्द छैन् ।

खुल्लामञ्चमा लायन्स क्लव बेनी पिस सिटीको सहयोगमा ज्येष्ठ नागरिक र अग्रज कलाकारले अरूलाई समेत सम्मान दिन अनुरोध गरिएको छ । उनले आफ्नो जीवनको अन्त्यसँगै सारंगी समेत लगेर जाने बताउँछन् । उनी म्याग्दीकै अग्रज कलाकार भएपनि कलाकारहरुको साझा संस्था लोकदोहोरी प्रतिष्ठानको नजरमा पर्न सकेका छैनन् । उनलाई भेट्न कलाकारहरु फाटफुट पुग्छन् तर प्रतिष्ठान पुग्न सकेको छैन् ।

Leave a Reply