पश्चिम म्याग्दीको मालिका गाउँपालिकासँग सिमाना जोडिएको बागलुङको तमानखोला गाउँपालिकामा चारजनालाई कोरोना संक्रमणको खवरसँगै जोडिएका सबै नाका सिल गरिने भएको छ ।

तमानखोलाको धनगौज्योती माविको क्वारेन्टाइनमा भारतबाट आएर बसेका चारजनामा पोजेटिभ देखिएपछि मालिका गाउँपालिका वडा नं ३ रुम र वडा नं ४ ओखरबोटसँग जोडिएको सडक सञ्जाल र पैदलमार्गहरूमा आवतजावत रोक्ने तयारी सहित बैठक बस्न जनप्रतिनिधिले बताएका छन् ।

‘आज नै बैठक बसेर आवतजावत नै रोक्छौ,‘धेरै आवतजावत हुने क्षेत्र भएकाले पनि सतर्कता अपाउनुपर्छ’ मालिका–३ का वडा अध्यक्ष हेमबहादुर पुनले भने । रूमबाट ओखरबोट हुदै लाम्मेलाबाट तमान जाने गर्दछन्। त्यस्तै ओखरबोट गाउँ हुदै सोलेडाँडाबाट आवतजावत गर्नेहरूलाई समेत वडाले निर्णय गरेर रोक्ने तयारी गरेको छ । ओखरबोटको सिस्नेरी गाउँबाट मालिका–५ देविस्थान हुदै बागलुङ तर्फ आवतजावत गर्ने भएकाले समेत उक्त क्षेत्रमा समेत कडाई गरिने बताइएको छ । तमानखोला गाउँपालिकामा रूम र ओखरबोटबासीको पारिवारिक, आर्थिक कारोबार समेत हुने भएकाले तमान, लाम्मेला क्षेत्रमा जोखिम भएमा सुरक्षित हुन नाकाबाट प्रवेश गर्ने सम्भावनालाई समेत मध्यनजर गरी सर्तकता आवश्यक रहेको जनप्रतिनिधिको भनाई छ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले संक्रमितको खवर प्राप्त भएसँगै गाउँपालिकातर्फ प्रवेशमा कडाई गरिने बताए । त्यस्तै उपाध्यक्ष खरमायाँ विटालुले छिमेकी जिल्ला बागलुङसँग सिमाना जोडिएका वडाका अध्यक्षलाई तत्काल बैठक राखेर समेत आवश्यक तयारीमा जुट्न निर्देशन दिइसकेको बताईन् ।

गएको सोमबार सम्पन्न कार्यपालिकाको बैठकले बागलुङको तमानखोला र ताराखोला गाउँपालिकाबाट आवतजावतमा तत्काल खुकुलो बनाउन नहुने भन्दै सीमा क्षेत्रमा जनप्रतिनिधि, स्वयमसेवक सहित परिचालनलाई थप ब्यवस्थित बनाउने निर्णय भएको थियो । ओखरबोट हुुदै तमानलाम्मेला जानेलाई कडाई गर्न सिमामा शसस्त्र र नेपाल प्रहरी गरी ८ जना परिचालन समेत गरिएको छ ।

Leave a Reply