कोरोना भाइरस कोभिड–१९ को जोखिमलाई बेवास्ता गदैं म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङका ताराखोला गाउँपालिका–५ सिपको सिमानामा अवस्थित दुरूलेक धुरीमा दैनिक घुम्न जानेको भीड लाग्न थालेपछि आवतजावतमा रोक लगाइएको छ ।

समुद्र सतहदेखि करीब तीन हजार ५ सय मिटरको उचाइमा रहेको दुरूलेक धुरीसम्म मालिका–२ रुम तथा आसपासका क्षेत्रबाट आवतजावत गर्न पूर्णरुपमा रोक लगाउने गरी निर्णय गर्न वडाका जनप्रतिनिधिलाई निर्देशन दिइएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताउनुभयो ।

‘घुम्न जानेको भीड लाग्ने गरेको गुनासो आएको छ,‘तत्कालै मार्गहरुमा आवतजावत रोक्न भनेका छौ’ उपाध्यक्ष विटालुले बेनीअनलाइनलाई भन्नुभयो। लेक जोडिएको बागलुङको गाउँपालिकासँग समेत समन्वय गरी आवश्यक तयारी गरिने मालिका–२ का वडा अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार लेकसम्म जाने मार्गहरु बन्द गर्ने वा आवतजावतमा रोक लगाउने भन्ने विषयमा आमा समुह, यूवा क्लवसँग समेत सहकार्य गरिने बताउनुभयो । बागलुङमा बुधबार एकैपटक ६ जनामा कोरोना देखिएपछि थप सतर्कता आवश्यकता रहेको बताउँदै अटेर गरेमा जरिवाना समेत तोक्न सकिने जनप्रतिनिधको भनाई छ ।

दुरूलेक धुरीमा घुम्ने र विभिन्न बहुमुल्य जडिबुटी समेत खोज्न जाने गर्दछन् । करिव दुई दिनसम्म बस्ने गरेको गुनासो आउन थालेपछि जनप्रतिनिधिले धेरै आवतजावत हुने नाका बन्द गरेर आवश्यकता अनुसार दुवै जिल्लाबाट समेत संयुक्त गस्ती समेत गर्ने बताएका छन् ।

दुरलेकले बागलुङका रनसिङकिटेनी, पाण्डपखानी, बुङ्गादोभान र तमानको सीमा क्षेत्रलाई समेटेको छ । यहाँ म्याग्दी क्षेत्रबाट अधिर्कास मालिका गाउँपालिका भित्रका वडाबाट जाने गर्दछन् । अग्लो डाँडो दुरलेकबाट  हिमशृङ्खलासँगै म्याग्दी र बागलुङका विभिन्न गाउँबस्तीको अवलोकन गर्न सकिन्छ ।

Leave a Reply