क्षणिक उपलब्धि भनौं वा जिवन यापनका निम्ति अपरिहार्य आवश्यकता , विलासिताका साधन , त्यो भन्दा अझै माथी पहिचान , को निम्ति संघर्षको मैदानमा रहेको मानव जाती ( को अधिकांश हिस्सा) विश्राम गर्दै छ । जे सुकै होस, जतिसुकै भागदौड गरौं तर जीवन बाँच्न  पाउनु भन्दा ठुलो उपलब्धि संसारमा रहेनछ । यसैबिच सामान्य दैनिकी र जिवनका विभिन्न आयामहरुमा अवरोध सिर्जना नहोस भनेर अझै पनि विभिन्न विकल्पहरु को खोजी हुँदै  छ जसमध्येको एउटा  अभिन्न हिस्सा शिक्षा पनि हो ।

विश्वव्यापी महामारिका कारण करिब दुई महिनादेखी मुलुक Lockdown रहेको अवस्थामा शैक्षिक संस्थाहरुको ‘Online Class’ को होडबाजी देखिन्छ । अनि Online Class अनिवार्य हुनुपर्छ भन्नेहरु एकातिर छन र  नेपालको सन्दर्भमा Online Class एउटा मजाक मात्र हो भन्नेहरु अर्कोतिर । तर हामी एक सचेत विद्यार्थी को हैसियतले विषयलाइ अतिरन्जित पनि नगरौं  अनि सम्भावना नै छैन भनेर निराशाको खेती पनि नगरौं । यसका सबल र दुर्बल पक्षको अध्ययन नै नगरि पुर्वाग्रही किसिमको धारण बनाउनु ठिक हुदैन ।
तरपनि हामिले नकार्न नमिल्ने एउटा सत्य कुरा यो हो कि अन्य विकसित मुलुकहरु विकासको चरम विन्दुमा पुगेर नयाँ नयाँ खोजसङै Online Class संचालन गर्न सफल भए अनि हामी अन्य कुनै विकल्पनै नरहेको कारणले बाध्य भएर Online Class संचालन गर्नुपर्छ भन्ने अवस्थामा पुग्यौं । यस अर्थमा पनि हाम्रा लागी Online Class सहज छैन । यो बाध्यताले जन्माएको रहर हो । यद्यपि  यदि हामी चुनौतीहरु बिच अवसर देख्छौं भने त्यस कुरालाइ प्रोत्साहन  गर्न जान्नुपर्छ ।

असहज परिस्थितिको उपज , रातारात सम्बन्धि निकायले आफ्नो मातहतका  शैक्षिक संस्थालाइ Online Class संचालन गर्न निर्देशन दियो तर कति विद्यार्थी Internet को पहुँचमा  छन? पहुँच हुनेका लागि के अनि नहुनेका लागि विकल्प के?  उपस्थित भएपछि यस Class भित्र के के विषयलाइ कसरी संचालन गर्ने? पढाइ मात्रै पुरानै शैलिमा अगाडि बढाउनु को विकल्प नै छैन? अनि  निर्देशन अनुरुप सबैतिर समान रुपमा अभ्यास भए वा भएनन?  भन्ने कुराको जनसमुदायमा  स्पष्ट जानकारी पुगेन ।

बरु अनिवार्य पोशाक/ हाजिर र उपस्थितिका विषय सुनियो  जुन अत्यन्तै असान्दर्भिक हुन र यसले गर्दा हामी Online Class सम्म भन्न भ्याउदा पनि उहीँ पुरानै शिक्षा नीति र विधि मा अल्झिरहेको भान गरायो ।

Online Class का केही कमजोरीको विषयमा एक विद्यार्थीको रुपमा  विचार राख्नुपुर्व यसले फाइदा पुर्याउने विषयमा मैले बुझेका केही कुरा छन। हामी पठनपाठनका गतिविधि ठप्प भइरहदा पनि नियमित रुपमा शिक्षकसङ सम्पर्कमा रहिरहन पाउनु एउटा अवसर बन्न सक्छ ।

पुन: अवस्था सामान्य भएपछि पनि कक्षामा उपस्थित हुनका लागि मानसिक रुपमा पुर्व: तयारी रहन यो माध्यम बन्ला । म यो भन्ने पक्षमा अहिल्यै छैन कि Online Class हाम्रो सन्दर्भमा पुरै अनिवार्य भनेर लागू हुनुपर्छ तरपनी Trial ( परिक्षण) को रुपमा यसलाइ संचालन गर्न सकियो भने  यसले आगामी दिनमा कुनै एउटा संस्थालाई मात्र नभएर समग्र शैक्षिक क्षेत्रलाई  नै सहयोग पुर्याउला ।
तर यसैलाइ शैक्षिक क्रान्तिको नाम भने नदिउ । अहिलेको यो अवस्था हाम्रो लक्ष्य होइन, Online Learning को  लक्ष्य प्राप्तिको लागि एउटा कदम हो ।  सधैं शिक्षक को अगाडि बन्द कोठामा बसेर औपचारिक पढाइ हुनुपर्छ भन्ने सोचलाइ हटाउन Online Class ले सहयोग गरोस भन्ने मेरो व्यक्तिगत चाहना छ । ( तर  जुन शैलिमा हामी अभ्यास गर्दै छौं  , त्यसरी यो त्यति सम्भव देखिदैन) ।
IT को प्रयोगलाई यसले सहयोग गर्ला र हाम्रो समाजमा केही हद सम्म प्रविधिको प्रयोग मौलाउने अवसर पनि यसबाट अवश्य मिल्छ होला। एकैपटक देश भर यसलाइ लागू गर्नपर्छ भनेर सरकार र सम्बन्धित निकायलाइ दबाब दिन पनि मिल्दैन किनकी यो क्रमबद्ध रुपमा विस्तार हुने कुरा हो । फुर्सदिलो समयमा साथिहरु बिच सम्पर्कको वाहाना बन्छ भने त्यस्लाइ पनि सकारात्मक रुपमा व्याख्या गर्दा अनुचित नहोला ।

तर यसबाट उब्जिएका चुनौती र समस्यालाइ बेवास्ता गर्दै Online Class भनेर मात्र शिक्षा आधुनिक बन्दैन । शहरी क्षेत्रमा  Internet Access संतोषजनक रहेता पनि नियमित Online Class का लागि विभिन्न समयमा अझैपनी केही समस्या बन्न पुग्छ , यद्यपि यो सामान्य समस्यालाइ हामी समाधान गर्न सक्छौं तर देशका ग्रामीण भु- भागका विद्यार्थीका निम्ति यो असम्भव जस्तै हो । हामी सहज Phone सम्पर्क गर्न नसक्ने स्थानमा Online Class को परिकल्पना गर्न सक्दैनौं ।

यी क्षेत्रका विद्यार्थी को समस्यालाइ कसरि मुल्यांकन गरिन्छ? शैक्षिक सत्रमा आँच आउँछ भनेर विकल्प खोज्ने नै हो भने त हरेक ठाउँलाई उत्तिकै महत्त्वका साथ राख्नुपरेन? घन्टौं हिडेर स्कुल पुग्नुपर्ने विद्यार्थीहरुका लागि  घरमै बसेर Online Class पढ्नुपर्छ भन्दै जोड गर्न मिल्दैन ।
म वा कुनै थोरै संख्या का  विद्यार्थीले व्यक्तिगत रुपमा सहभागीता जनाउन सक्नु / नसक्नु मेरो र मेरो शैक्षिक संस्थाको सरोकार को विषय होला तर यहाँ प्रश्न समग्र शैक्षिक क्षेत्रको र सम्पुर्ण विद्यार्थीको हो ।

हुन त सायद अवस्था सामान्य भएसङै पुरानै अवस्थाबाट  कक्षा सुचारु गर्ने नीति सरकार र शैक्षिक संस्था को होला  तर यदि त्यसो गर्ने नै भए किन उहि पुरानै ढंगमा Course अगाडि बढाउने दौडधुप गर्दै छौँ ? भन्ने प्रश्न हो मेरो । प्रतिकुल परिस्थितिमा पनि विद्यार्थी पढाइ बाट बन्चित नहुन भन्ने आशय बोकेको यस  कदमलाइ कुनै कोण बाट पनि गलत भन्न खोजेको होइन तर केही फरक ढंगबाट गर्न सकिन्छ कि ?

जिवनको भागदौडमा यसरि विश्राम गर्ने अवसर अब फेरि  सायदै मिल्ला । यसो भन्दैमा हातमा हात बाधेर बस्नु भएन तर यो बिचको केही समयमा  पुरानो शैलीबाट माथि उठेर केही सिर्जनशिल सिकाइ र बुझाइ लाई जोड गरौं ।

समस्या छ भन्दैमा यथाअवस्थामै निरर्थक बनेर नबसौ तर यसलाइ रचनात्मक रुपमा अगाडि लैजान प्रयत्न गरौं । पढ्नकै निम्ति एउटै धरातलमा रहेका विद्यार्थी लाई कोहि  अगाडि र कोहि पछाडि बनाएर भद्रगोल नगरौं । उपस्थिति जनाउन नसक्नु विद्यार्थीको समस्या भनेर भन्न पनि मिल्दैन किनकि समस्या सम्पुर्ण देश, प्रविधि , विकासको हो  (यस अर्थमा समस्या हामी सबैको हो )।

अब गर्ने के? Online class भनेर जानकारी दिनका लागि १० पटक Phone गर्नुपर्ने परिस्थितिमा अनिवार्य उपस्थिति जनाउ भनेर दबाब दिन सुहाउछ र ? हामी विद्यार्थी को स्वभाव नै पढाइबाट भाग्न खोज्ने हुनाले यो लाग्न सक्छ कि हामी वाहना गर्दै छौं , तर यो भ्रममा पनि नबसौ होला किनकी  कति अवस्थामा हामी बाध्य छौं ।
व्यक्तिगत अनुभवका आधारमा भन्ने हो भने मेरो बुझाइमा  सम्भव नै नभएको भने होइन तर  Class कै बिचमा हामी हराउनु , Network अचानक काम नगर्नु र प्रष्ट आवाज नहुनु उपस्थित हुने मध्य पनि धेरै विद्यार्थीका लागि सामान्य रूपमा देखिने समस्या हो। अझैसम्म  प्रविधि त्यति माथी पुगिसकेको छैन।

बरु केही फरक सोचौं । Digital Learning सम्भव हुनेलाइ अवसर दिउ , Online Class को सम्भावना लाई परिक्षण गर्दै अगाडि बढाऔ अनि उपस्तिथि सम्भव  नहुनेलाइ अनावश्यक मानसिक तनाबबाट मुक्ति ।

यसैपनी हामी त्यही पुरानै नीति,  अभ्यास, सिकाइ र बुझाइ बाट आजित भएर विकल्प खोज्नुपर्छ भन्ने पक्षमा जोड गर्दै थिएनौं र?  तसर्थ Online Class का केही व्यवहारिक सिकाइमा ध्यान केन्द्रित गरौं । सैद्धान्तिक सिकाइले पछाडि पुर्यायो भन्ने विषयले यसैपनी विश्वबजार तताइरहेको छ ।
म व्यक्तिगत रुपमा पनि हाम्रो शिक्षा चाहिने जति व्यबहारिक नभई कहिकतै बोझ पो भन्न पुग्यो कि भन्ने विषयको पक्षमा छु तर कुरा मेरो व्यक्तिगत विचार के हो भन्ने नभएर, आवश्यकता के हो भन्ने छ ।जे सुकै होस यसका विकल्प को बारेमा केही चर्चा गरौं ।

यो समय हामी विद्यार्थी आफ्नो ठाउँ बाट पढ्नु वा सिक्नुपर्छ भन्ने  कुरा बुझ्दै सिकाइमा केन्द्रित रहनु आवश्यक हो  न कि अनिवार्य रूपमा नियमित कक्षा मा झै Course अगाडि बढाउनु र त्यही पुरानै गतिविधिलाई निरंतरता दिनु। हामी विद्यार्थीले सम्भव भएसम्म Google , Wikipedia, Youtube बाट सिक्नु  अनि सङ सङै त्यो भन्दा बाहिर आफ्नो सिर्जना र प्रतिभालाइ चिन्नु मा कति जोड गर्यौ? कि त्यही औपचारिकतामा नबाधेसम्म हामी चासो देखाउदैनौ? अनि शैक्षिक संस्थाले पनि कति सम्म अनिवार्य उपस्थिती सम्भव छ भन्ने कुरालाइ बेवास्था गर्नाले उपस्थित हुन नसक्ने विद्यार्थी अनि उनका अभिभावकमा पर्ने तनाब बुझ्नुपर्ने कुरा हुन ।

जो विद्यार्थी लाई Online माध्यम बाट  उपस्थिती सहज र सम्भव छ, ती विद्यार्थीलाई पुरानै शैलीमा course केन्द्रित नभएर सिर्जनात्मक र रचनात्मक अभ्यास तिर मात्रै जोड गर्न सकियो भने समस्या धेरै हदसम्म समाधान हुन सक्छ ।
यसले उपस्थित हुन सक्ने  अनि नसक्ने पनि दुवैलाई न्याय गर्छ । सम्भावना नरहनेहरुमा पढाइ छुट्नु को डर रहदैन अनि उपस्थित  हुनेहरुका निम्ति समयको सदुपयोग गर्ने राम्रो अवसर बन्न सक्छ । यो अवस्थामा अनौपचारिक रुपमा लेखाइ र बोलाइ मा शुद्धता ,नेपाली र English भाषाको ज्ञान् , सिर्जनशिल लेख / रचना , घरमा बसेर Internet को माध्यम बाट गर्न सकिने खोजमुलक अध्ययन र अन्य प्रतिभा देखाउने/ चिन्ने अवसर , Computer र Internet को व्यवहारिक प्रयोग , व्यस्त जीवन शैलीबाट मुक्त रहेको अवस्थामा परिवार बाट सिक्ने ज्ञान लाई भरपुर लिन नसकिएला  र ?
हुन त सुरुबाट एक ठाउँ बाट भएरै विस्तार हुने हो तर   हामी सम्भावना लाई ख्याल नै नगरी धेरै महत्वाकांक्षी  बनी झन समस्याको कारक नबनौ । पढाइ, सिकाइ र बुझाइका लागि  Course बढाउनु र किताब पढाउनु मात्र ठूलो कुरा हैन ।
शैक्षिक संस्थाले Online Class मा उपस्थिती जनाउन सक्नेहरुका लागि सिर्जनशील गतिविधिमा जोड गरेको खण्डमा यसले केही सकारात्मक परिवर्तन ल्याउन सक्छ । र दुई वर्गमा विद्यार्थी विभाजित हुने सम्भावना न्यून बन्छ ।  अहिले Online Class को नाम अनि त्यहि वाहानामा  अवस्था सामान्य भएसङै सरकार को निर्देशन विपरीत  देशभरका कुनै पनि शैक्षिक संस्थाका लागि   शुल्क असुल्ने माध्यम नभएर वास्तविक सिकाइ बुझाइ र ज्ञानको लागि Online Class बनोस । बाध्यताका कारण छुटेका हरु पढाइबाट बन्चित नहुन अनि सहभागी हुन चाहने हरु केही सिक्न सकुन ।
पढाइका निम्ति देशका प्रमुख शहरमा बसेर  ख्यातिप्राप्त र आधुनिक प्रविधि युक्त  School/ College मा पढेका विद्यार्थी पनि  महामारीको भयले आफ्नो गृह जिल्ला र गाउँ – घरमा फर्किएको यो अवस्थामा उपस्थिति जनाउन नसक्नु कुनै पनि विद्यार्थीको कमजोरी हुन सक्दैन यसै विषयलाइ लिएर अनावश्यक टीका – टिप्पणी गर्नुको कुनै अर्थ रहन्न ।

अन्तमा : एक विद्यार्थीको नाताले मेरो भनाइ यहि रहन्छ कि Course सक्नु , किताबका पाना पल्टाउदै जानु र त्यही पहिलेकै ढंगमा पढ्नु / पढाउनु ठूलो कुरा होइन । यो पारिवारिक माहोलका बिच रहेर विद्यार्थी आफ्नो सिर्जना  , रचना र प्रतिभा चिन्न सकुन त्यो वातावरण बनाउन सम्बन्धि अभिभावक र शैक्षिक संस्था  सफल रहोस । यहि चुनौती बिच रहेर हामी केही सीप र व्यवहारिक ज्ञान सिकौं । महामारी पुर्व र पश्चात् त्यही पुरानो र औपचारिक शैलिमा नै सिकाइ र पढाइ सिमित थियो र रहन्छ नै तर अहिलेका लागि सायद सिकाइमा जोड दिनु ठूलो कुरा हो ।

तसर्थ अनावश्यक औपचारिकतामा मात्रै केन्द्रित नरहौ । सम्भावना लाई प्रयोग गर्न सिकौं । अवसर हुदा हुँदै पनि हामी विद्यार्थीको वाहानाबाजी अनि सम्भावना नै नभएको ठाउमा पनि शिक्षकको  हाजिर र अनिवार्य उपस्थितीका लागि जोड हाम्रा निम्ति घातक छन । दिनभर Facebook मा भुल्ने तर Class मा उपस्थिति जनाउन नसक्ने हामी विद्यार्थी अनि देश र परिभेष लाई बुझेर  पनि जबर्जस्त अडानमा उभिने शिक्षकले सम्भावालाइ सहि प्रयोग गर्न रोकिरहेका छौं ।

Abhishek
Beni, Myagdi