कोरोना भाइरस (कोभिड–१९) ले रोजगारी गुमेपछि भारतबाट बुटवल हुदै आएका पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका यूवामा कोरोना देखिएपछि कोरोना संक्रमित जिल्लाको सूचीमा म्याग्दी समेत थपिएको छ ।

लामो समयसम्म नेपाल–भारत सिमानमा अलपत्र परेका मालिका–४ ओखरबोटका ३० बर्षिय यूवालाई कोभिड–१९ कमाण्ड पोष्टमार्फत उद्धार गरी म्याग्दीको सदरमुकाम बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा राखिएको पाँचदिनपछि बुधबार १४ जनाको पिसिआर परीक्षणका लागि गण्डकी प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा एकजनामा कोरोना पोजेटिभ देखिएसँगै म्याग्दी समेत कोरोना देखिने जिल्लाको सूचीमा परेको हो ।

गण्डकी प्रदेशका ११ जिल्ला रहेको छ । म्याग्दीका एक जना संक्रमितसँगै छिमेकी जिल्ला बागलुङमा निको भएर घर फर्किएका २ जना र बुधबार भारतबाटै आएका ६ जनामा कोरोना देखिएको थियो ।

त्यस्तै स्याङ्जा, लम्जुङ र नवरपुर जिल्लाका गरी गण्डकी प्रदेशमा १७ जनामा कोरोना देखिएको छ । म्याग्दीमा भारतबाट आएकाहरूमध्ये बुधबार १४ जनाको स्वाब पठाइएको थियो । बुधबार पठाइएको मध्ये केही यूवाहरू भारतबाट नेपालमा प्रवेश गरी बागलुङमा पोजेटिभ देखिएका यूवाहरुसँगै बागलुङसम्म पुगेका थिए।

भारतबाट आएकाहरुमध्ये बिहिबार म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकाको २९ जनाको स्बाब संकलन गरी पिसिआर परीक्षणका लागि पोखरा पठाइएको छ । २९ जनाको परीक्षण रिर्पोट शुक्रबार आउने जनाइएको छ । शुक्रबार न्यू वेष्टका थप १८ जनाको स्वाब संकलन गरी पठाइने छ।

अवको केही समय म्याग्दीमा कोरोनाको जोखिम उच्च हुने चिकित्सकले बताएका छन् । भारतको सीमाबाट आउने क्रम जारी रहेकाले जोखिमलाई मध्यनजर गरी आवश्यक तयारी र सर्तकता अपनाउनुपर्नेमा जोड दिइएको छ ।

Leave a Reply