छिमेकी राष्ट्र भारतको सीमा क्षेत्रमा अलपत्र परेका म्याग्देलीलाई ल्याउन म्याग्दीका ६ वटै पालिकाहरुले एक वटा बस र दुई वटा जिपको व्यवस्था गर्ने भएका छन् । रोजगारी तथा विभिन्न कामले भारतमा गएर अलपत्र परेकाहरूको उद्धारलाई प्राथमिकता दिदैं आवश्यकता अनुसार तत्काल प्रयोग गर्ने गरी सवारीसाधनको ब्यवस्थापन मिलाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार जिससको सभाहलमा आयोजित सर्वपक्षीय बैठकले कोरोना भाइरसको जोखिमसँग जुध्न जिल्ला स्तरीय कार्ययोजना बनाइएको छ । गृहजिल्ला आउन सीमा क्षेत्रमा अलपत्र परेकालाई उद्धार गरी क्वारेन्टाइनमा राखेर सम्बन्धित स्थानीय तहले खानपान लगायत आवश्यकका लागि बजेट समेत विनियोजन गर्ने भएका छन् । भारतबाट ल्याएका १०३ जनालाई बेनीका क्वारेन्टिनमा राखिएको छ ।

सुनौली नाकाबाट जेठ ९ गते आएका मालिका ४ ओखरबोटका ३० वर्षीय पुरुषलाई कोरोना पुष्टि भएपछि शैक्षिक तालिम केन्द्रमा स्थापित आइसोलेशनमा राखेर उपचार सुरु भएको छ । सीमाबाट सिधै गाउँपालिकाको क्वारेन्टाइनमा लैजाँदा परीक्षण सहित आवश्यक तयारीमा समस्या हुने भएकाले बेनीबजारमा रहेका क्वारेन्टाइनको क्षमता विस्तार गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

‘आजको बैठकले निकै सकारात्मक सन्देश प्रवाह गरेको छ,‘थप योजना सहित अगाडी बढ्न सहज भएको छ’ प्रजिअ ढकालले भन्नुभयो ।

भारतबाट आएकालाई बेनीको क्वारेन्टाइनमा राखेर पिसिआर बिधिबाट कोरोना परिक्षण गर्न ६ सय भिटिएम किड व्यवस्थापन गर्ने निर्णय भएको छ ।  बैठकमा संविधान सभाका सदस्य गोविन्द पौडेल, नवराज शर्मा, रेशमबहादुर बानियाँ, जिसस म्याग्दीका प्रमुख देबेन्द्रबहादुर केसी,नेकपाका सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, धवलागिरी गापाकी अध्यक्ष थमसरा पुन, रघुगंगा गापाका अध्यक्ष भवबहादुर भण्डारी, अन्नपूर्ण गापाका अध्यक्ष डमबहादुर गर्बुजा, मालिका गापाकी उपाध्यक्ष खरमायाँ विटालु, म्याग्दी उवासंघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल, स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिले आफ्नो मन्तब्य राखेका थिए ।

छलफलमा खुल्लामञ्चमा सञ्चालित आइसोलेशन सञ्चालन गर्न सबै स्थानीय तहले एक जना प्यारामेडिक खटाउने, उपकरण तथा स्वास्थ्य साम्रागी ब्यवस्थापनमा सघाउने लगायतका निर्णय भएको छ ।
यस्ता छन् सर्वपक्षीय बैठकको निर्णय

Leave a Reply