कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण फैलिएका जिल्लाबाट समेत लुकिछिपी प्रवेश गर्न थालेपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका स्थानीयले प्रवेशद्धारमा कडाई गरेका छन् । मालिका र धवलागिरी गाउँपालिकाको प्रवेशद्धार दरबाङ बजारका ८ वटा टोलले २४ घण्टा बजार प्रवेशद्धारमा अस्थायी रुपमा गरालो लगाएर बाटो बन्द गरेर अति आवश्यक सवारी साधन बाहेक लकडाउनको समय अवधिसम्म आवतजावतमा कडाई गरेका हुन् । टोलबासीले आलोपालो गस्ती सहित नाकाको पोष्टमा कडाई गरेको वडा अध्यक्ष सन्तनाथ सुबेदीले बेनीअनलाइनलाई बताउनुभयो । ‘लुकिछिपी तराईबाट समेत उक्लिन थाले,‘आवतजावतमा कडाई गर्न यो कार्यले सहज भएको छ’ सुबेदीले भन्नुभयो । यसअगाडी दरबाङबासीले छ्यारछ्यारेमा फलामे बार राखेर ताल्चा समेत लगाएका थिए ।टोलबासीको अभियानलाई इलाका प्रहरी कार्यालय दरबाङले समेत सहयोग गरेको छ । चेकपोष्टमा सरकारी सवारीसाधनलाई समेत निगरानी गर्ने गरिन्छ । सरकारी सवारीसाधनमा अनावश्यक मान्छे बोकेर हिड्ने गरिएको भन्दै सम्बन्धित कार्यालयसँग समेत सम्पर्क गर्ने गरिएको छ ।

सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)लाई बेवास्ता गरी आवतजावत गर्नेलाई पोष्टबाटै फिर्ता समेत गरिएको छ । दरबाङबाट मालिका बाहेक धौवलागिरी गाउँपालिकासँगै छिमेकी बागलुङको तमानखोला गाउँपालिका र रुकुम जिल्लाबाट आवतजावत गर्ने गर्छन् ।

बागलुङको तमानखोलाको क्वारेन्टाइमा कोराना संक्रमण देखिएपछि थप सर्तकता अपनाइएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । ‘बागलुङसँग सिमाना जोडिएका वडामा स्वयंमसेवक खटाइएको छ,‘जोखिम न्यूनिकरणका लागि आवश्यक सबै पहल भइरहेको छ’ अध्यक्ष रोकाले भन्नुभयो ।

समुदायको सक्रियताले समेत सहज भएको बताउँदै आवतजावतलाई रोक्ने र अटेर गर्नेलाई प्रहरीको जिम्मा लगाउन समेत निर्देशन दिइएको छ । म्याग्दीका बेनी नगरपालिकासहित मालिका, धौलागिरि, अन्नपूर्ण, रघुगङ्गा र मङ्गला गरी ६ वटै स्थानीय तहका युवा, आमा समूह र जनप्रतिनिधिको सक्रियतामा अपरिचित ब्यक्ति र जिल्लाबाहिरबाट आउनेलाई निगरानी गर्ने गरिएको छ ।

Leave a Reply