जिल्ला प्रहरी कार्यालय म्याग्दीले झण्डै ६० रोपनी क्षेत्रफलको जमिनमा फैलिएको गाँजा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि,संघसंस्थाको सहयोगमा बेनी नगरपालिका वडा नं ९ र १० मा सार्वजनिक जग्गा, खेतबारीमा फैलिएको गाँजा नष्ट गरेको हो । आइतबार र सोमबार प्रहरीले समुदायको साथमा बाँझो जमिन र खेतबारीमा उम्रिएको ठूलो परिमाणमा गाँजा नष्ट गरेको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताउनुभयो । ‘एउटै क्षेत्रबाट करिब बिस बोरा गाँजा नष्ट गरियो,‘यो अभियान जिल्लाभर सञ्चालन हुन्छ’ कुँवरले भन्नुभयो । उहाँका अनुसार म्याग्दीमा ब्यवसायीक भन्दा पनि प्राकृतिक रुपमा उम्रिएको गाँजामा दुब्र्यसनीहरुको आँखा रहेकाले देखेपछि तत्कालै नष्ट गर्न समेत अनुरोध गर्नुभएको छ । खेतबारीमा फैलिएको वा खेती गरिएका स्थानमै पुगेर प्रहरी, वडाका जनप्रतिनिधि, आमा समूहसहितका संघसंस्थाका प्रतिनिधिले दुव्र्यसनमुक्त समाज बनाउने अभियानलाई समेत सहयोग पुग्ने भन्दै गाँजा नष्ट गरेका हुन्। बेनपा भित्रका १० वटै वडामा जनप्रतिनिधिलाई अग्रसर बनाउने र समुदायमा गाँजा भेटेपटि तत्कालै नष्ट गर्ने गरी सक्रिय बनाउने प्रहरीले जनाएको छ । स्थानीयसँगको साझेदारीमा समाजलाई सकारात्मक सन्देश फैलिने अभियानसहित घरदैलोमै पुगेर समेत कार्यक्रम गरिने छ । कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण र लकडाउन कार्यान्वयनमा सक्रिय प्रहरीले गाँजा फडानीलाई समेत प्राथमिकता दिएको जनाएको छ । दिनानु दिन गाँजा प्रयोगकर्ताहरुको संख्या बढेको प्रहरीमार्फत जानकारी पाएििछ नष्ट गर्ने अभियान चलाइएको बेनपा–९ का अध्यक्ष बेलबहादुर चोखालले बताउनुभयो ।

प्रहरीले यहाँका विभिन्न ठाउँका जमिनमा उम्रिएको गाजा नष्ट गर्न थालेपछि स्थानीयबासीहरु पनि खुशी भएका छन् । प्रहरीले बेनी नगरपालिका सहित जिल्लाका पाँचवटै गाउँपालिकामा जनप्रतिनिधि, सामुदायिक प्रहरी सेवा केन्द्र, यूवा क्लव, आमा समुह लगायतको सक्रियतामा अभियान सञ्चालन गरेको छ ।

Leave a Reply