तीनमहिना अगाडी भारतको उत्तर प्रदेशमा रोजगारीका लागि प्रवेश गरेको केही दिनमै कोराना भाइरसको जोखिमले भारतमा लकडाउन सुरू भयो । लकडाउनसँगै भारतका कोरोना संक्रमित बढेपछि स्वदेश फर्किदाँ सीमामै रोकिएका मालिका गाउँपालिका–४ का ३० बर्षिया यूवालाई १२ जना साथीहरूसँगै सीमा क्षेत्रबाट उद्धार गरी बेनीमा ल्याइएको थियो ।

भारतको नौतुनामा १७ दिन क्वारेन्टाइनमा बसेका उनले नेपालमा प्रवेश गरेपछि पनि ३ दिन क्वारेन्टाइनमा बसेर जेठ ९ गते बेनी आएका थिए ।  १५ गते साँझ कोरोना पोजेटिभ भएपछि उनको दैनिकी परिवर्तन भएको छ । २० बेडको आइसोलेसन कक्षमा संक्रमित यूवा बसेको कोठमा ७ बेड छन् ।

कोठमा एक्लै छन् तर पनि उनलाई नजिकैको पुरानो भवनमा रहेका स्वास्थ्यकर्मीले नियमित सिसी क्यामेराबाट निगरानी, आवश्यकता अनुसार परार्मश समेत दिइरहेका छन् ।इन्टरनेटको पहुँच भएपनि उनी सामाजिक सञ्जालबाट टाढै छन् ।

हातमा भएको फोनबाट परिवार, आफन्तसँग बोल्छन् ।लजालु स्वभावका उनलाई मालिका गाउँपालिका–५ देविस्थान स्वास्थ्य चौकीकी दुर्गा आचार्य र मंगला गाउँपालिका–५ अर्मन स्वास्थ्य चौकीकी अमिता गर्बुजाले विहानै दैनिकीका बारेमा जानकारी गराउँछन् ।

स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ। विहान–बेलुकीको खाना बेनी अस्पतालको चमेनागृहबाट जान्छ । विहान केहीबेर योग अभ्यास समेत गर्ने गरेका उनी कोठाभित्र हिडछन् । समय–समयमा चियाखानाको पनि छुट्टै प्रबन्ध छ । कोभिड १९ कमाण्ड पोष्टका संयोजक ज्ञाननाथ ढकाल सहित कमाण्ड पोष्टका सदस्यहरू, बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल सहितको टोलीले समेत नियमित सम्पर्क गर्ने गरेका छन् ।

‘मैले अहिलेसम्म औषधी सेवन गरेको छैन्,‘परिवारसँग फोनमा कुरा गर्छु, राम्रो हेरविचार गर्नुभएको छ’ उनले भने । आफुँ निको भएर फर्किएपछि कोरोनाको उपचारको क्रममा देखेका र भोगेकाका बारेमा समुदायलाई समेत सकेको जानकारी गराउने उनले बताए । ‘उपचारमा यती धेरै प्रयास हुने रहेछ, मलाई छिनछिनमा फोन आउँछ’ उनले बेनीअनलाइनसँगको कुराकानीमा भने । रोजगारीको लागि भारताम गएपनि अव निको भएर घर फर्किएपछि गाउँमै सकेको काम गर्ने उनको योजना छ ।

म्याग्दीमा पहिलो संक्रमित समेत रहेका उनलाई अबको रिर्पोट नेगेटिभ आउनेमा ढुक्क छन् । उनलाई खाना–पानी र बसाईमा कुनै गुनासो छैन् । स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु आफैंमा पनि दह्रो आत्मबलका साथ आइसोलेसनमा बसेको अस्पतालका ब्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताए । आइसोलेसन कक्षमा एक्लोपन महसुस हुन नदिन बेलाबेलामा बाहिरबाट जाने फोनले समेत उनी उत्साहित छन् । एक्लोपनको महसुस हुन नदिन समय समयमा फोन समेत गर्ने गरिन्छ । उनको हेरचाह र औषधोपचारका लागि चिकित्सकको टोली समेत खटिने गरेका छन् । नोटः संक्रमितको अनुमतिमा यो तस्वीर र फुटेज लिइएको हो ।

Leave a Reply