कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लागू गरेको बन्दाबन्दीका बीच म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउनका लागि बस्ती संरक्षण आयोजनाको काम धमाधम भइरहेको छ । गण्डकी प्रदेश सरकारको ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बांगेघरासम्म करीब २ किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटवन्ध गर्न लागिएको हो ।

संघीय सांसद भुपेन्द्रवहादुर थापाको पहलमा बस्ती संरक्षण आयोजनाले बगरफाँटको वस्ती संरक्षणका लागि डीपीआर तयार गरी १ वर्ष भित्रमा काम सम्पन्न गर्नेगरी संरक्षण आयोजनाको काम शुरु भएको बगरफाँट, म्याग्दीखोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताए । अध्यक्ष कार्कीका अनुसार नदी कटानबाट अति प्रभावित क्षेत्र जरुवादेखि डम्मराको पुलसम्म ४०० थान जाली भरिएको छ । विगत ९ दिनदेखि दैनिक २० जना मजदूरहरुले ग्याविन लगाउने काम गरिरहेका छन् ।

यस वर्ष जरुवादेखि पलाँसेसम्मको तटबन्ध गर्ने काम सम्पन्न गर्ने योजना रहेकोमा बन्दाबन्दीका कारण समयमा नै मजदूर र निर्माण सामग्रीको अभावका कारण लक्ष्य पूरा हुन नसकेको अध्यक्ष कार्कीले बताए ।

२०५७ सालमा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रुपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षहरुमा सामान्य ग्याविन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भएपनि त्यो प्रभावकारी भएको थिएन ।

करीब २०० घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहेपनि वर्खामा भने नदी कटानका कारण सधै जोखिममा रहने गरेको स्थानीयले बताएका छन् ।

गत वर्ष स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त रू. १० लाखबाट नदीजन्य वस्तुहरुको स्थानान्तरण गराइ उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम गरिएको अध्यक्ष कार्कीले बताए ।

अध्यक्ष कार्कीका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका वडा नं ६ डम्मराका बासिन्दाहरुको आपसी सहमतिमा म्याग्दी नदीको करीब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्यवस्तु (ढुंगा, गेगर, बालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको थियो ।

Leave a Reply