सुरक्षित गर्भपतनको क्षेत्रमा काम गर्दै आइरहेको संस्था आईपास नेपालले मङ्गलबार म्याग्दीका १८ ओटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्यसम्बन्धी सामग्रीहरु सहयोग गरेको छ । आईपास नेपालले बेनी अस्पताल म्याग्दीसहित जिल्लाका १८ स्वास्थ्य संस्थालाई कोभिड–१९ लक्षित स्वास्थ्यका विभिन्न सामग्री उपलब्ध गराएको हो ।

संस्थामार्फत पिपिई २ सेट, एप्रोन ९० थान, एन नाइन्टी फाइप मास्क ७२, पन्जा ५० प्याकेट, सर्जिकल मास्क २९ सय ६ थान, डिस्पोजेबल पन्जा ३३ सय ३० थान, स्यानीटाइजर सिसी २ सय ९० वटा, युटिलिटि ग्लोब्स २ सय १४, चस्मा ३६ ओटासहित क्यापलगायत सुरक्षित गर्भपतनसम्बन्धी सामग्री समेत सहयोग गरिएको आईपास नेपालका कलस्टर संयोजक सरस्वती पुरीले जानकारी दिनुभयो । बेनी अस्पताललाई एक थान एमभिए पोर्सियुडर बेड समेत हस्तान्तरण गरिएको कलस्टर संयोजक पुरीले बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार म्याग्दीमा मात्रै बेनी अस्पताल र १८ ओटा स्वास्थ्य संस्थालाई गरेर कुल तीनलाख २३ हजार पाँचसय ५२ रुपैयाँ बराबरको कोभिड–१९ तथा सुरक्षित गर्भपतनसम्बन्धी स्वास्थ्यका सामग्रीहरु सहयोग हस्तान्तरण गरिएको छ । उक्त सामग्रीहरु जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक समेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले हस्तान्तरण गर्नुभयो । उहाँले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, अस्पताल विकास समिति अध्यक्ष बेलबहादुर कटुवाल र स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्साललाई वितरण गर्नुभएको थियो ।

Leave a Reply