---Advertisement---

बेनीको क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण

On: June 3, 2020 10:33 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीको क्वारेन्टाइनमा बसेकाहरुलाई बुधबारदेखि योग प्रशिक्षण दिन सुरु गरिएको छ। बेनी नगरपालिकाको आयोजना तथा नविन आनन्द योग केन्द्र नेपालको समन्वयमा नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी न्यू वेष्ट प्वाइन्ट आवासीय मावि र म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण सुरू गरिएको हो । स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसंगै योगलाई दैनिक जीवनको एउटा महत्वपूर्ण हिस्सा भएकाले क्वारेन्टाइनमा बस्ने सबैको दिनचर्या, रोग प्रतिरोध क्षमताको वृद्धि गर्ने उपाय, आत्मबल बढाउने लगायतमा केन्द्रित भएर योग प्रशिक्षण सुरू गरिएको योग केन्द्र नेपालका अध्यक्ष नविन जुग्जालीले बताउनु्भयो । ‘उहाँहरू निकै उत्साहित हुनुहुन्छ,‘हामीले योगलाई निरन्तरता दिन्छौ’ जुग्जालीले भन्नुभयो ।

उहाँका अनुसार बुधबार विहान न्यू वेष्ट प्वाइन्टमा रहेका ४० जनाबाट सुरू गरिएको प्रशिक्षण बेलुकी म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकालाई दिइने छ । कोभिड–१९ कमाण्ड पोष्टका प्रमुख एवम् प्रजिअ ज्ञाननाथ ढकालले क्वारेन्टाइनमा बस्ने र खाने मात्रै नभई नियमित योगमा समेत सहभागी हुने अवसर मिलाउनुभएको मुख्य प्रशिक्षक जुग्जालीको भनाई छ ।

बदलिँदो जीवनशैली, गलत खानपानले मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताउँदै योग साधनालाई हरेक दिन प्रयोग गर्नुपर्नेमा जोड दिइएको थियो । कोरोना भाइरससँग जुध्न नियमित योगसाधनालाई समेत प्राथमिकता दिन अनुरोध गरिएको थियो ।

सामाजिक दुरी कायम गरी सञ्चालन गरिएको योग प्रशिक्षणबाट क्वारेन्टाइनमा बसेकाहरु समेत उत्साहित छन् । प्रशिक्षणा योग केन्द्रका केन्द्रिय उपाध्यक्ष सुरेन्द्रराज पौडेल, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष ओमकुमारी थापा, योग प्रशिक्षक कुलराज पौडेल र विमला गौचन लगायतको उपस्थिती रहेको थियो । हरेक दिन फरक फरक योग अभ्यास सञ्चालन गरिने छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।