बुधवार (.हिजो) राति कोरोना पोजेटिभ रिपोर्ट देखिएका म्याग्दीको मंगला गाउँपालिका वडा नं ४ बरंजाका १९ वर्षिय युवक भारतको वाराणासीमा २२ दिनसम्म क्वारेन्टिनमा बसेका र म्याग्दी आएको ५ दिनमा कोरोना संक्रमण भेटिएको पाइएको छ ।
स्वास्थ्य निर्देशनालय, पोखराले बुधबार साँझ सार्वजनिक गरेको रिपोर्टमा उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
कोरोना पुष्टि भएका युवा बेनी नगरपालिका–८ न्यू वेष्ट प्वाइन्ट आवासीय माविको रहेको क्वारेन्टाइनमा बसेका थिए ।
उनको जेठ १७ गते परीक्षणका लागि स्वाव लिइएको र १८ गते पोखरा पु¥याइएको जिल्लास्थित कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए ।
केसीका अनुसार जेठ २१ गते साँझ उनको रिपोर्ट पोजेटिभ आएको हो । भारतबाट उनीसंगै आएका अन्य ३ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । ‘ जेठ १८ गते कोरोना संक्रमित युवकसंगै १५ जनाको स्वाव परीक्षणका लागि पोखरा पठाएका थियौं, उनी बाहेक अन्य १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ’ कमाण्ड पोष्टका सदस्य केसीले भने ।
क्वारेन्टाइनमा बसेकाको पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई खुल्लामञ्चमा रहेको आइसोलेसनमा लगिएको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २ पुगेको छ । दोस्रो संक्रमतिको अवस्था समेत सामान्य छ ।
जिल्लामा दुई जना कोरोना पोजेटिभ देखिए पछि उच्च सर्तकता अपनाइनु पर्नेमा लकडाउन खुकुलो हुँदै गएको स्थानियले गुनासो गरेका छन् ।
कोरोना संक्रमित युवकसंगै आएका र उनीसंगै क्वारेन्टिनमा बसेकाहरुलाई क्वारेन्टिनमा नै राखिएको छ ।

Leave a Reply