बेपत्ता थापाको खोजीका लागि गोताखोरको टोली परिचालन

मालिका गाउँपालिकाको क्वारेन्टाइनबाट म्याग्दी खोलामा नुहाउन जाँदा बेपत्ता भएका धवलागिरी गाउँपालिका–७, धारापानीका १९ बर्षिय राजेश थापाको खोजीका लागि शसस्त्र प्रहरीको तालिमप्राप्त गोताखेरको टोली बिहिबार विहानैदेखि परिचालन गरिएको छ ।

मंगलबार दिउँसो खोलामा नुहाउन जाने क्रममा बेपत्ता भएपछि जनप्रतिनिधि, प्रहरी सहितको टोलीले पत्ता लगाउन नसकेपछि शसस्त्र प्रहरीको पोखराबाट ६ जना विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोली परिचालित भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो । ‘खोजीकार्य जारी छ,‘अझै बेपत्ता छन्’ ढकालले भन्नुभयो ।

शसस्त्रको टोली बुधबार साँझ दरबाङ पुगेको थियो । शसस्त्रको टोलीले घटनास्थलदेखि रातढुंगासम्म खोजी गरेको भएपनि फेला नपरेपछि शुक्रबार विहानबाट निरन्तरता दिने वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताउनुभयो । बेपत्ता थापा सहित भारतबाट फर्किएका १८ जनाको पिसिआर नेगेटिभ आएपछि मालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

तालिमप्राप्त टोलीलाई गाउँपालिका सहित स्थानीय जनप्रतिधिले समेत सघाइरहेका छन् । खोज तथा उद्धारमा शसस्त्रको गोताखोर टोलीलाई निकै भरपर्दो मानिन्छ । म्याग्दीमा बेपत्ता भएकाको खोजीमा शसस्त्र प्रहरीकै टोली परिचालन गर्ने गरिएको छ ।