म्याग्दीको बेनी नगरपालिका अन्तर्गत विभिन्न वडामा सञ्चालित योजनाहरुको स्थलगत अनुगमन जारीरहेको छ । यसैक्रममा शुक्रबार बेनपा–३, भकिम्ली र ४ नम्बर वडा सिङ्गाको विभिन्न स्थानमा चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका विकासे योजनाको स्थलगत अनुगमन गरिएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सन्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीसहितको एक टोलीले वडा तहमा सञ्चालित योजनाहरुको अनुगमन गरेको बेनी नगरपालिकाले जनाएको छ । उक्त टोलीमार्फत खरको छाना विस्थापन योजना थामडाँडा, आमा समूह भवन निर्माण, थामडाँडा सोता माटरबाटो, राखु भकिम्ली सडक योजना तथा सिङ्गामा सञ्चालित खोप कार्यक्रमको अनुगमन गरेको हो । सिङ्गामा मात्रै २२ विपन्न घर परिवारको खरको छाना विस्थापन गरी जस्तापाताले घर छाउने कार्यक्रमलाई तीव्र रुपमा अगाडि बढाइएको छ । यसैगरी बेनपा–३, भकिम्लीको राखु क्षेत्रमा उत्पादित सुन्तला बजारमा ढुवानी गर्नका लागि सडकको स्तरोन्नति गर्न चालु वर्षमा पाँचलाख रुपैयाँको काम भैरहेको छ । बेनी नगरपालिकामार्फत वडा तहमा सञ्चालित पूर्वाधार निर्माणतर्फका योजनाहरुको कार्यान्वयनको अवस्थाबारे जानकारी लिने उद्देश्यले स्थलगत अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । अहिले राखु–भकिम्ली सडकखण्डको भिरालो ठाउँमा ग्याबिन जाली लगाउने, घुम्तीमा ढलान गर्नेलगायत सडक स्तरोन्नतिको काम अघि बढेको बेनी नगरपालिकाका असिस्टेन्ट सव–इन्जिनियर चन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ ।

सिङ्गाको थामडाँडा क्षेत्रमा बालुमखोला सिँचाई आयोजनाको काम पनि भैरहेको छ । बेनी नगरपालिकाले वडास्तरमा जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतासहित भौतिक पूर्वाधार निर्माण र विकासमा जोड दिएको छ । बेनपाको सिंगा र भकिम्ली क्षेत्रमा गरिएको स्थलगत अनुगमन कार्यक्रममा बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतम, सिङ्गाका वडा सदस्इ देवबहादुर घले तथा पत्रकारसहितको सहभागिता रहेको थियो। अनुगमन टोलीले मङ्गलबार बेनपा–१, रत्नेचौर क्षेत्रमा सञ्चालित विकासे योजनाहरुको समेत स्थलगत अनुगमन गरेको थियो ।

Leave a Reply