म्याग्दीको सदरमुकाम बेनीमा थप ६० बेडको क्वारेन्टाइन विस्तार गरिएको छ । नेपाल–भारत सीमाना र तेस्रो मुलुकबाट म्याग्देलीहरू धमाधम आफ्नो गृह जिल्ला फर्किंन थालेपछि बेनपा–८ हिलसाईडमा रहेको माउण्ट एभरेष्ट आवासीय माविको भवनमा ६० बेडको क्वारेन्टाइन थपिएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य एवम् स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘आज ३० बेड तयारी गरिएको छ,‘तेस्रो मुलुकबाट आउने क्रम सुरु भएको छ’ लम्सालले भन्नुभयो । छिमेकी राष्ट्र भारतका साथै यूएईबाट १ जना शनिबार साँझ क्वारेन्टाइनमा आएको लम्सालको भनाई छ । कोरोना संक्रमण सुरु भएलगत्तै क्वारेन्टाइन वा आइसोलेसन कक्षका लागि माउण्टले उक्त भवन उपलब्ध गराएपनि प्रयोग गरिएको थिएन् ।

त्यहाँको तयार गरिएको बेडलाई अन्य क्वारेन्टाइनमा प्रयोग गरिएपनि थप क्वारेन्टाइनको आवश्यकता परेपछि पुनः भवनलाई प्रयोग गरिएको छ । सरकारले तेस्रो मुलुकमा अलपत्र परेकालाई समेत उद्धार सुरु गरेको अवस्थामा हाल सञ्चालनमा रहेको म्याग्दी बहुमुखी क्याम्पस र न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा बेड अपुग हुने भएपछि हिलसाईडमा खाली रहेको माउण्टको भवनलाई प्रयोग गरिएको कोभिड–१९ कमाण्ड पोष्टले जनाएको छ ।

जिल्लाका पाँच स्थानीय तह बाहेक म्याग्दी क्याम्पसमा ५०, न्यू वेष्ट प्वाइन्टमा ४५ बेडको क्वारेन्टाइन रहेको छ । यसैबीच गत जेठ ९ गते नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएकाको पिसिआर रिर्पोट नेगेटिभ आएपछि शनिबार बेनी नगरपालिकाका १९, मालिका १०, अन्नपूर्ण १० र मंगला गाउँपालिकाका ६ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

बेनीबाट होम क्वारेन्टाइनमा पठाइएकालाई सम्बन्धित पालिकाले घरमै एक्लै बस्ने ब्यवस्था वा क्वारेन्टाइनको ब्यवस्थापन गरेर राख्न सक्ने बताइएको छ । बेनीको क्वारेन्टाइनबाट घर फर्किएकाले कम्तिमा १४ दिनसम्म एक्लै बस्नुपर्ने, समुदायमा घुलमिल हुन नपाउने लगायतका जानकारी समेत गराइएको छ ।

Leave a Reply