म्याग्दी लामखुट्टेको टोकाइबाट संक्रमण फैलिने डेंगुको उच्च जोखिममा परेपछि संक्रमति भेटिएका क्षेत्रमा एडिस जातको लामखुट्टेको सर्वे सुरू गरिएको छ ।

पछिल्लो दुई महिनामा देशभरमा सबैभन्दा धेरै संक्रमित भएको जिल्लामा रुपन्देहीपछि दोस्रोमा म्याग्दी परेपछि स्वास्थ्य कार्यालयको सक्रियतामा बेनी नगरपालिका र मंगला गाउँपालिकामा डेंगु सार्ने एडिस जातको लामखुट्टे बारे सर्वे सुरू गरिएको प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

‘बेनीबजारमा डेंगु सार्ने लामखुट्टे अत्याधिक भेटियो,‘बेनी डेंगु संक्रमणको उच्च जोखिममा छ’ लम्सालले भन्नुभयो । स्वास्थ्य कार्यालय बागलुङमा कार्यरत भेक्टर कन्ट्रोल निरिक्षक याम बरालको उपस्थितीमा भइरहेको सर्वेमा बेनीबजारका ग्यारेजमा रहेका टायर, सार्वजनिकस्थान, चौतारी लगायत विभिन्न स्थानमा गरिएको स्थलगत सर्वेमा डेंगु सार्ने एडिस जातको लामखुट्टेका भण्डार नै भेटिएको थियो ।

त्यस्तै मंगला गाउँपालिकको केन्द्र बावियाौरमा समेत डेंगु सार्ने लामखुट्टे भेटिएपनि संक्रमति भेटिएको गाउँपालिकाका केही स्थानमा भने सर्वेमा नदेखिएको सर्वे टोलीले जनाएको छ । यसबर्ष बेनी नगरपालिका र मंगला गाउँपालिकामा डेंगुका संक्रमति भेटिएका छन् । सर्वे टोली संक्रमित भेटिएका वडाहरू मै पुग्ने जनाइएको छ । टोलीले सर्वेपछि थप योजना सहित डेंगु सार्ने ’लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्ने जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार बैशाख र जेठ महिनामा देशैभर ८३ जनामा डेंगु संक्रमित भेटिएकोमा सबैभन्दा धेरै रुपन्देहीमा १५ जनापछि म्याग्दीमा १२ जनामा डेंगु पोजेटिभ देखिएको छ ।

त्यस्तै गण्डकी प्रदेशका ११ जिल्लामा सबैभन्दा धेरै डेंगु संक्रमित म्याग्दीमा भेटिएका छन् । कास्कीमा १० जना, नवलपरासी पुर्व २, पर्वत १ जना, बागलुङ १ जना, तनहुँ १ र गोरखा जिल्लामा १ जनामा पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Leave a Reply