नेपाल–भारतको सीमा क्षेत्रबाट उद्धार गरी क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएकालाई पुनः क्वारेन्टाइनमा राख्नु नपर्ने कोभिड–१९ कमाण्ड पोष्टले जनाएको छ ।

विभिन्न समयमा सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएकाहरूलाई क्वारेन्टाइनमा राखेर पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्किने बेलामा अवरोध हुने गरेको गुनासो आउन थालेपछि क्वारेन्टाइनमा १४ दिन विताएकालाई घरमा छुट्टै एक साता बसे पुग्ने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई बताउनुभयो।

‘पिसिआर नेगेटिभ आएपछि जहाँको क्वारेन्टाइनमा १४ दिन विताएपनि हुन्छ,‘घरमा १ हप्ता अलग्गै बस्नुपर्छ’ लम्सालले भन्नुभयो । उहाँले पिसिआर नेगेटिभ आएपछि पनि पुनः क्वारेन्टाइनमा राख्न नपर्ने भन्दै जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरिएको बताउनुभयो ।

‘क्वारेन्टाइनको अवधि पुरा गरी घर फर्किएकालाई अपमान नगनुहोस्, उहाँहरू सुरक्षित हुनुहुन्छ, रिर्पोट नै नेगेटिभ आएपछि घरमा एक्लै बस्दा कुनै असर हुदैन’ लम्सालले भन्नुभयो । क्वारेन्टाइनको समय विताएर फर्किएकालाई गाउँमा अवरोधको गुनासो आए कारवाही गरिने समेत जनाइएको छ ।

क्वारेन्टाइनबाट घरमा जानेलाई समेत एकहप्ता अलग्गै नबसी घुमफिर गरेको पाइएमा कानुन अनुसार कारवाही गरिने जनाइएको छ । भारतबाट फर्किएका पिसिआर नेगेटिभ आएपछि धमाधम फर्किन थालेका छन् ।

बेनीको क्वारेन्टाइनमा बसेको पाँचदिनपछि पिसिआर परीक्षमा नेगेटिभ आएकालाई स्थानीय तहमा पठाएर १४ दिन विताएपछि मात्रै घर पठाउने गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरू मध्ये जेठ २४ गते ३४ जना, २५ गते २२ जना र आज सोमबार ४ जना होम क्वारेन्टाइनमा जाने जनाइएको छ ।

Leave a Reply