रघुगंगा गाउपालिका–६ कोटगाउँबाट करिब पाँचमिनेटको दुरीमा दलप्रसाद शेरपुञ्जाको एउटा सानो छाप्रो छ। गाउँमा घर भएपनि शेरपुञ्जाको परिवारले पशुचौपाया रेखदेख गर्न सजिलो हुने भएपछि छाप्रोमै बस्दै आएका थिए । माओवादी जनयूद्धमा छोरा गुमाएका दलप्रसादको परिवार सामान्य कृषि र पशुपालनबाट जिवन विताइरहेका थिए ।

छिमेकी कुइनेमंगलेमा विवाह गरेकी छोरी र नातिनी समेत गरी चारजना कोटगाउँको घर र गोठमा बस्ने गरेका थिए । मंगलबार दिउँसो खेतीपाती, घरायसी काम गरेर दलप्रसाद, श्रीमति हमायाँ र नातिनी सिम्रन छन्त्याल गोठमै बसेका थिए भने छोरी रसिना शेरपुञ्जा छन्त्याल काम विषेशले गाउँको घरमा गएकी थिईन् । राती सुतिरहेको बेलामा माथिबाट लेदो सहितको पहिरो गोठभित्र प्रवेश गर्दा तीनै जना मस्त निन्द्रामा थिए ।

लेदो सहित गोठभित्र सुतिरहेको ठाउँमा पुर्न थालेपछि निन्द्राबाट झल्याँस्स ब्युझिएपछि दलप्रसादले तत्कालै श्रीमति हमायाँलाई उठाउने प्रयास गरे ।

एक्कासी पहिरो गोठभित्र प्रवेश गरेपछि अलमलमा परेका दलप्रसादले उद्धारको प्रयास गरेपनि श्रीमति र नातिनीलाई जोगाउन सकेनन् ।लोदोले शरीर पुरिसकेको अवस्थामा हमायाँले नातिनीलाई समेत जोगाउने प्रयास गरेजस्तो देखिएको एक स्थानीयले बताए ।

‘पहिरोबाट उम्किने प्रयास गरेको देखिन्छ,‘एकले अर्कोलाई जोगाउने प्रयास गर्दा सम्भव नभएपछि दलप्रसाद बाहिर निस्किए’ उनले भने ।वर्षाका कारण झरेको पहिरोले पुर्दा जोगाउन नसकेपछि दलप्रसादले भागेर ज्यान जोगाउन सफल भएका थिए ।

धेरैजसो नातिनीलाई आफुँसँगै सुताउने गरेकी हमायाँले आफुँ र नातिनीको ज्यान जोगाउन सकिनन् । गाउँको घरमा भएको कारण रसिनाले आफ्नो ज्यान भने जोगाइन् ।तर छोरी र आमालाई मध्य रातमा आँखै अगाडि गुमे ।

घटनाले कोटगाउँबासीको आँखामा आँसु ओभाएको छैन। पहिरोले इमान्दार र मेहनती हमायाँलाई गुमाउँदाको पीडाले पोलेको छ । वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले घटनामा दलप्रसादले श्रीमति र नातिनीलाई जोगाउने प्रयास गरेपनि सफल नभएपछि भागेको बेनीअनलाइनलाई बताए ।

उनले पहिरोले पुरिएको जानकारी लगत्तै जनप्रतिनिधि, स्थानीय समुदाय र पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक ढकबहादुर हमालको टोली उद्धारमा खटिएको बताए। गाउँपालिकाले ज्यान गुमाएकालाई विपद् ब्यवस्थापन समितिमार्फत राहत वितरण गर्ने जनाएको छ ।

त्यस्तै आवश्यकता अनुसारको राहत उपलब्ध गराउन वडा कार्यालयले समेत अभियान सञ्चालन गर्ने जनाइएको छ । गोठको माथिल्लो क्षेत्रबाट पाखापानी–रायखोर जोड्ने सडक विस्तार गरिएको छ । बर्खाको समयमा उक्त स्थानमा पानीको मुल फुट्ने गरेकाले समेत जोखिम मानिन्छ । घटनास्थलमा प्रहरी निरिक्षक धुब्रप्रसाद शर्मा सहितको टोली पुगेको छ ।

Leave a Reply