कोरोना संक्रमण भएर धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा भर्ना भएका बडिगाड र तमानखोलाका ४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार अस्पतालमा भर्ना भएको १४ दिनपछि कुनै लक्षण नदेखिएमा डिस्चार्ज गर्ने प्रावधान अनुसार बडिगाड गाउँपालिकाका २ जना र तमानखोला गाउँपालिकाका २ जनालाई डिस्चार्ज गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो ।

उहाँले पहिले संक्रमण देखिएपछि पहिले जस्तो लगातार दुई पटक नेगेटिभ आएर डिस्चार्ज गर्ने प्रावधानलाई स्वास्थ्य मन्त्रालयले अहिले आइसोलेसनमा भर्ना भएको १४ दिनसम्म उनीहरुमा कुनै पनि लक्षण नदेखिएमा स्वतः डिस्चार्ज गर्ने निर्देशन जारी गरेकोले आज डिस्चार्ज गरिएको बताउनुभयो ।

भारतदेखि आएर पालिकाहरुको क्वारेन्टाइनमा बसेका उनीहरुलाई जेठ १४ गते संक्रमण पुष्टि भएपछि सोहि दिन अस्पतालको आइसोलेसनमा राखिएको थियो । आइसोलेसनमा भर्ना गरिएका ६ जना मध्य २६ गते तमानखोलाका २७ बर्षिय २ जना पुरुष र बडिगाडका १९ र २० बर्षिय पुरुषको दोस्रो स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

यस्तै उनीहरुसँगै संक्रमण देखिएका तमानखोलाका २१ बर्षिय २ जना पुरुषलाई केहि दिनपछि मात्र डिस्चार्ज गरिने भएको छ । उनीहरुको दोस्रो स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरुमा केहि लक्षण नदेखिएपनि त्रास फैलने डर कायमै रहेकोले २/३ दिन पछि मात्र डिस्चार्ज गरिने अस्पतालका मेसु डा. पोखरेलले बताउनुभयो । ‘निर्देशिका अनुसार आजै डिस्चार्ज गर्न मिल्थ्यो,’ उहाँले भन्नुभयो–‘अहिले कोरोनाको त्रास कायमै छ । त्यसैले अझै केहि दिन आइसोलेसनमा राख्दा केहि समस्या नदेखिएमा घर पठाइने छ ।’ khabarway.com

Leave a Reply