---Advertisement---

छ्यारछ्यारे नजिकै म्याग्दी नदीमा पौडी खेल्न खतरा !

On: June 10, 2020 9:49 PM
Follow Us:

पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६, दरबाङको छ्यारछ्यारेबाट निस्कोटको सिरदी जोड्ने झोलुङ्गे पुल आसपास हुदै बग्ने म्याग्दी खोलामा पौडी खेल्न गएका एक यूवा डुबेर बेपत्ता भए ।

भारतबाट फर्किएका धवलागिरी गापा-७ धारापानीका १९ बर्षिय यूवा राजेश थापा खोलामै बेपत्ता भएपछि आइतबार दिउँसो शब भेटियो । दरबाङ बजारबाट नजिकै रहेको झोलुङे पुल आसपासको क्षेत्रमा थापा जस्तै धेरै विगतमा समेत पौडी खेल्ने, माछा खोज्दै र दाउरा छोप्ने क्रममा ज्यान गुमाएका छन् ।

पछिल्लो आधा दशक यता दरबाङ, दिच्याम, दुखुका यूवाले पौडी खेल्ने क्रममा झोलुङ्गे पुल आसपासको क्षेत्रमा ज्यान गुमाएको दरबाङका वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताए। ‘यहाँ पौडी खेल्दा ज्यान गुमाउने धेरै छन्,‘सङ्लो पानी बगेको खोलाभित्र दह भएकाले पौडी खेल्न लुकिछिपी आउँछन्’ सुबेदीले बेनीअनलाइनलाई भने।

शनिबार र विदाको समयमा यूवाहरू समुह बनाएर उक्त स्थानमा आउने गरेको उनले बताए ।झोलुङ्गे पुलको माथिल्लो र तल्लो क्षेत्रमा दाउरा छोप्न गएकालाई समेत बगाएको बताउँदै यस क्षेत्रमा पौडी खेल्न पूर्णरुपमा प्रतिबन्ध लगाएर निगरानी गर्नुपर्ने अवस्था आएको बताए ।

यूवाहरू खोलामा झ्वाम्म हाम्फालेर एकछिन छप्ल्याङ-छप्ल्याङ पौडी खेल्दै गरेको अवस्थामा बेपत्ता भएकाले त्यस क्षेत्रमा नुहाउन, लुगा धुन समेत जाने नदिने तयारी भइरहेको वडा अध्यक्ष सुबेदीको भनाई छ। गत हप्ता बेपत्ता भएका यूवाको खोजीमा आएको शसस्त्र प्रहरीको गोताखोरको टोलीका सदस्यले समेत पौडी खोल्न धेरै जोखिम रहेको बताएका थिए ।

उद्धारमा आवश्यक पर्ने उपकरण सहित खोला भित्र प्रवेश गरेको शसस्त्रको गोताखोरका सदस्यले माथिबाट बग्ने खोलाको बेग पुल नजिक रहेको चट्टानमा ठोक्किने, चट्टानको तल गहिरा भएकाले पानी बीचतिर घुम्ने गरेको, माथिबाट हाम्म फाल्दा ढुंगामा समेत शरीर बजारिने भएकाले अचेत भएर बेपत्ता हुने जोखिम रहेको बताएका थिए ।‘त्यहाँ घुमाउनेमा पौडी खेल्न जाँदा पानीले तानेर घुमाउँदै भित्रभित्रै पुर्याएको पत्तो हुन्न,‘पानीभित्र केही फन्को घुमेपछि मान्छेको ज्यान जान सक्छ’ शसस्त्र गोताखोर टोलीका सदस्यलाई उद्धित गदैं मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन् ।

उनका अनुसार टोलीले उक्त स्थान अत्यन्त जोखिम भएकाले मुख र नाकबाट छिरेको पानीले श्वास फेर्न मुस्किल भएपछि ज्यान जाने भन्दै पौडी खोल्न रोक्न सुझाव समेत दिएको बताईन् । त्यहाँ पौडी खेल्न जानेले समेत पौडिएर जानेलाई निक्लिन गाह्रो हुने भन्दै दिएको सुझावलाई कार्यान्वनय गर्ने बताईन् । दरबाङका स्थानीयले समेत हरेक बर्ष दुर्घटना हुने खोलामा नुहाउन प्रतिबन्ध लगाउन माग गरेका छन् ।

 

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।