मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित सवारी दुर्घटनामा परेर उपचारका लागि आएको भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान पर्वतका एक ३५ वर्षीय पुरुष संक्रमित मणिपालमा उपचाररत रहेको जनाएको थियो ।

अस्पताल स्रोतका अनुसार उनी जेठ २१ को मध्यरातमा भर्ना भएका थिए । दुर्घटनामा हातखुट्टा भाँचिएको र टाउकोमा समेत चोट लागेकाले उनलाई मणिपाल ल्याइएको थियो । उनको अस्पतालको न्यूरो आईसीयूमा उपचार भइरहेको थियो । उनी कुश्मा नगरपालिका–३ का हुन् ।

टाउकोको अप्रेसन भएको र कोरोना परीक्षणपछि हातखुट्टाको पनि अप्रेसन गर्ने तयारीमा अस्पताल थियो । यहीबीचमा बिहीबारको राति उनमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्टका अनुसार मोटरसाइकल दुर्घटनामा परेका उनलाई टाउको र हातमा चोट लागेको थियो ।

राति नै मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो । केही दिनको उपचारपछि पनि निको नभएपछि उनको टाउकोको अपरेसन गरेको उनका दाजुलाई उद्धृत गर्दै कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए । पाध्याका अनुसार संक्रमित युवाले केही समयदेखि होटल व्यवसाय गर्दै आएका छन् । ‘होटल गर्थे । कुश्मा–पातीचौर बाहेक अन्यत्र कतै गएका होइनन्,’ वडाध्यक्ष पाध्याले भने, ‘कोरोना कसरी सर्‍यो बुझ्नै सकिएन ।’

पहिले अचेत रहेका उनी नशाको उपचारपछि होसमा आएका थिए । संक्रमित पुरुषको यात्रा विवरण, उनले भेटेका व्यक्तिहरुलगायतका बारेमा खोजी भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।अहिले उनलाइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ ।इकान्तिपुरबाट

Leave a Reply