म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली जन्मघर भै काठमाडौमा व्यवसाय गर्दै आएका रबिन कँडेलको पहलमा बेनी अस्पताललाई छ सय थान कोरोना परिक्षणको आरडिटि किट उपलब्ध भएको छ । कोरोना महामारीको रुपमा फैलिएको समयमा कोरोना जाँचका लागि पहिलो माध्यम मानिने आरडिटि किट शुक्रबार युवा व्यवसायी कँडेलले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई हस्तान्तरण गरेका थिए । कँडेलले प्रजिअ ढकाललाई हस्तान्तरण गरे लगत्तै ढकालले बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेका थिए । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले आफ्नो भूमिका लागि जो कसैले पनि सामाजिक क्षेत्रमा यस्तै प्रकारले भूमिका खेल्नु पर्ने बताएका थिए ।

हस्तान्तरणका क्रममा कँडेलले आफ्नो जन्मभूमिका लागि आवश्यक पर्ने सामग्री ल्याउनका लागि भूमिका खेल्न पाएकोमा खुशी लागेको बताएका थिए । कँडेलले आगामी दिनहरुमा पनि आफ्नो जन्म भूमिको हितमा हुने काम गर्ने प्रतिबद्धता जनाएका छन्।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले भने –‘बेनी अस्पतालका लागि छ सय थान आरडिटि किट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँग समन्वय गरेर बेनी ल्याउनका लागि उल्लेखनिय भूमिका खेलेर आफ्नो जिल्ला प्रति कँडेलले जिम्मेवारी बहन गर्नुभयो ।’ अध्यक्ष कटुवालले आगामी दिनहरुमा पनि आफ्नो जिल्लाका लागि सामाजिक कार्यमा अग्रसर भएर काम गर्ने हौसला मिल्नेमा आशा ब्यक्त गरेका थिए ।

Leave a Reply