कोपिला नेपाल संस्थाले आइतबार म्याग्दीमा अपाङ्गता भएका व्यक्तिहरुको संरक्षकहरुलाई राहत सहयोग गरेको छ । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दी र संरक्षक म्याग्दीको पहलमा उनीहरुलाई राहत उपलब्ध गराइएको हो ।

अपाङ्गताको हेरचाह गर्दै आएका जिल्लाका १० जना संरक्षकहरुलाई दाल, चामल, नुन, तेल, चिउरा, चिनी, साबुनलगायत दैनिक उपभोग्य सामग्रीहरु सहयोग गरिएको छ । उक्त सामग्री जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले संरक्षकहरुलाई हस्तान्तरण गरेका थिए । विश्वभर फैलिएको कोभिड–१९ का कारण लामो समयसम्म जारी लकडाउनले उत्पन्न समस्यालाई न्युनीकरण गर्न सहयोग गरिएको जनाइएको छ ।

लकडाउनका कारणले गर्दा समस्या झेलेका संरक्षक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर राहत सामग्री सहयोगको समन्वय गरिएको गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दीपक पौडेलले बताए । राहत सामग्री हस्तान्तरण कार्यक्रमको संरक्षक म्याग्दीका अध्यक्ष निशा जिसीले सञ्चालन गरेकी थिइन् ।

यसैगरी जिल्ला सदरमुकाम बेनीबजारस्थित सडक पेटीमा बस्दै आएका बेसाहारा पाँच जनालाई कोपिला नेपालको सहयोगमा व्यवस्थापन गर्ने तयारी गरिएको अध्यक्ष पौडेलले बताएका छन् । लकडाउनको समयमा उनीहरुलाई लायन्स क्लब अफ बेनी पिस सिटीले खाना खुवाएको थियो ।

Leave a Reply