ट्र्याक खुलेको डेढदशकपछि बेनी नगरपालिका–३ दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको स्तरोन्नतिले पछिल्लो दुईबर्ष यता निरन्तरता पाइरहेको छ ।

नगरपालिका भित्रकै सबैभन्दा जोखिम सडकको रुपमा चिनिएको भकिम्ली जोड्ने मुख्य सडक तत्कालिन समया भकिम्लीका बासिन्दाले चन्दा सङ्कलन गरेर ट्र्याक खोलेको कच्ची र साँघुरो अवस्थाको दूधेखोला–हल्लेगौडा–डाँडाखानी–डोले हुँदै मुसुङ्ग जोड्ने सडकमा यसबर्ष बेनी नगरपालिकाले ६० लाख बजेट विनियोजन गरेपछि थप स्तरोन्नतिको काम भइरहेको छ। नगरपालिकाको बजेटबाट मात्रै सडक विस्तारमा गति नलिने देखिएपछि भकिम्लीबासी उर्लिएर सडकमा दैनिकजसो श्रमदान गरिरहेका छन् ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सडक स्तरोन्नति सहित आवश्यक पूर्वाधारको काममा ढिलासुस्ती हुन थालेपछि भकिम्लीको टोल–टोल, बस्तीबाट समेत विहानदेखि साँझसम्म सडक स्तरउन्नतीमा खट्ने गरेको वडा अध्यक्ष पदम पुनले बताए ।

‘सडकलाई सुरक्षित बनाउन गाउँलेले धेरै पसिना बगाउनुभएको छ,‘दैनिकजसो श्रमदानको काम भइरहेको छ’ पुनले भने । उनका अनुसार नगरपालिकाको बजेट बाहेक स्तरोउन्नति भइरहेको क्षेत्र आसपासका बस्तीबाट हरेक घरधुरीले २ दिन र माथिल्लो क्षेत्रबाट यूवा, आमा समुहको नेतृत्वमा आएर १ दिन श्रमदान दिने काम भइरहेको छ।बेनी नगरपालिकाले विनियोजन गरेको ६० लाखबाट ढलान २ सय मिटर, पक्की नाली ६ सय मिटर,सोलिङ ३ सय मिटर, कच्ची नाली ३ सय मिटर, ग्याविनजाली ३ सय ५० थान लगाइने छ। उक्त सडकमा स्थानीयले करिब १० लाखको हाराहारीमा जनश्रमदान गर्ने स्थानीय याम बहादुर घर्तीले बताए।

सडक स्तरउन्नतीमा राजनीतिक दलका कार्यकर्ता सहित विद्यालयका शिक्षकले समेत श्रमदान गरेका छन् । तीन मिटर चौडाइ सडकलाई चार मिटरभन्दा बढी फराकिलो बनाउन थालिएपछि स्थानीय समेत उत्साहित छन् । साँधुरो घुम्तीसँगै जोखिमपूर्ण सडकले बस्ती आसपासमै दुर्घटना देखेका भकिम्लीबासीले गाउँसम्म पुग्ने सडकलाई नमुना बनाउने अभियानमा रहेको जयन्ती माविका सहायक प्रधानाध्यापक मन बहादुर पुनले बताए । उनले सडकलाई निरन्तर बजेट विनियोजन गर्न समेत नगरपालिकालाई अनुरोध गरेका छन् । सडकमा स्थानीयसँगै वडा अध्यक्ष पदम पुनले समेत निरन्तर श्रमदान गरिरहेका छन् । सडकको स्तरोन्नति गरिए भकिम्लीका बासिन्दालाई आवतजावत गर्न, सामान ढुवानी गर्न, कृषि उपज निकासीमा सहज हुनुका साथै स्वर्गाश्रम र बेलढुङ्गामा पर्यटक भित्रयाउन सहयोग पुग्ने वडाध्यक्ष पदम पुन बताउछन् । यो सडक बेनी नगरपालिकाको गौरबको योजना समेत हो ।

Leave a Reply