कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनिकरण तथा रोकथाममा खटिएका स्वयंमसेवकलाई पोशाक वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दी मार्फत जिल्लाभित्रका विभिन्न नाका र बस्तीहरूमा खटिनेलाई पहिचान गर्न सहज हुने गरी बेनीको न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले २५ र मंगलाकाली यातायात प्रालिले २५ थान पोशाक वितरण गरेको हो । सोमबार न्यू धौलागिरी सहकारीको कार्यालयमा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष लिलाबहादुर बानियाँ र मंगलाकालि यातायात प्रालिका अध्यक्ष देबेन्द्र पौडेलले प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरलाई उक्त पोशाक हस्तान्तरण गर्नुभएको थियो। प्रति संस्था १५ हजार ६३५ बराबरको पोशाक सहयोग गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा सहकारीका सचिव रामजीप्रसाद सुबेदी, कोषाध्यक्ष चन्द्रकुमार केसी,म्याग्दी यातायात कम्पनी प्रालिका अध्यक्ष लालबहादुर थापा, सचिव सुमन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा समुदायको साथले कोरोना बिरुद्धको अभियानमा सहज भएको प्रनाउ कुँवरले बताउनुभयो । उहाँले जिल्लामा समुदायस्तरबाट समेत विभिन्न सहयोग प्राप्त भएको बताउँदै प्राप्त सहयोगलाई लक्षित क्षेत्रमा प्रयोग गर्ने बताउनुभयो । सहयोग हस्तान्तरणमा सहकारीमार्फत कोरोना नियन्त्रणमा मास्क सहितका विभिन्न सहयोग समेत गरेको थियो भने मंगलाकालि यातायातले यातायातको क्षेत्रमार्फत सहयोग गरेको थियो ।

Leave a Reply