बेनी नगरपालिकाको शिक्षा शाखाको आयोजनामा सोमबार विद्यालय सञ्चालनका सम्बन्धमा विभिन्न विकल्पहरुमाथि छलफल सम्पन्न भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को विरुद्ध देशमा जारी लकडाउनले बन्द विद्यालय लकडाउन केही खुकुलो भएपछि कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालाहरुबीच अन्तत्र्रिmया र छलफल गरिएको हो ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पेशागत शिक्षक सङ्गठनका प्रतिनिधि, प्याब्सन र पत्रकार सहभागी उक्त छलफलमा विद्यालयको पठनपाठन आगामी दिनमा कुन माध्यमबाट सञ्चालन गर्ने विषयमा छलफल गरिएको शिक्षा शाखाले जनाएको छ ।

शिक्षा शाखाको तर्फदेखि कक्षा सञ्चालनका निम्ती विभिन्न १० ओटा विकल्पहरु प्रस्तुत गरिएको थियो । तीमध्ये लकडाउनको समयमा विद्यार्थीहरुलाई लक्षित गरेर शिक्षण सिकाई क्रियाकलापका लागि टिभी र रेडियो तथा एफएमबाट कक्षा सञ्चालन गर्ने विकल्प अगाडि सारिएको छ ।

यसैगरी शिक्षक विद्यार्थीको घरमै पुगेर गृहकार्य दिने, टोलटोलमा भेला गरेर कक्षा सञ्चालन गर्ने, अनलाइन कक्षा चलाउने, स्व–अध्ययन सामग्री निर्माण गरी वितरण गर्ने, छात्रावासमार्फत कक्षा सञ्चालन गर्ने, शिक्षकले शैक्षिक सामग्री निर्माण गर्ने, फोनमार्फत अभिभावक तथा विद्यार्थीलाई सघाउने, स्थानीय सिप र संस्कृतिसम्बन्धी जीवनपयोगी शिक्षा अग्रज तथा ज्येष्ठनागरिकहरुबाट सिकाउने व्यवस्था गर्ने जस्ता विकल्पहरु रहेका छन् ।

उक्त विकल्पहरुमध्ये ७ नम्बर बुँदाको विद्यार्थीलाई कक्षागत रुपमा आलोपालो गरेर बोलाउने र एउटा कक्षामा १० वा १५ जनाका दरले सहभागी गराएर शिक्षण सिकाई गराउन सकिनेमा पेशागत संघ सङ्गठनले जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले कोरोनाको जोखिम कायमै रहेकाले तत्कालका लागि विद्यालय सञ्चालन गर्न नहुने धारणा राखेका छन् । उनले यो समयमा शिक्षकले शिक्षणसम्बन्धी आवश्यक गृहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले असार महिनाका लागि शिक्षण संस्थाहरु नखोल्दा उपयुक्त हुने बताइन् । प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले लकडाउन राज्यको दायित्व भएकाले त्यसको पालना गर्नु सबैको कर्तव्य भएकाले अहिले नै विद्यालय सञ्चालन गर्न नहुनेमा जोड दिए ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवं बेनपा–४, सिङ्गाका वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले बजार क्षेत्रमा अनलाइनमार्फत कक्षा सञ्चालन सहज भए पनि ग्रामीण भेगका विद्यार्थीलाई समस्या हुनेहुँदा त्यसलाई मध्यनजर गर्नुपर्ने बताए । शिक्षा अधिकृत अर्जुन पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्रोतव्यक्ति जयराम सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

Leave a Reply