लकडाउन खुकुलो भएसँगै पैदल आगमन ह्वात्तै बढेको अवस्थामा बेनीबजारमा मास्कको प्रयोग नगरी हिड्डुल गर्ने गरिएको भन्दै घरबाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य गर्न कोभिड–१९ कमाण्ड पोष्टले निर्देशन दिएको छ ।

लकडाउन खुकुलो भएपनि पूर्ण रुपमा नहटेको भन्दै सरकारी कार्यालयमा सेवा लिने, गैरसरकारी संस्था वा बजारमा किनमेल गर्दा, वित्तिय संस्थामा कारोबार लगायत विभिन्न किसिमका सेवा आदानप्रदानको क्रममा मास्कको प्रयोगमा कडाई गर्ने निर्णय भएको कमाण्ड पोष्टका सदस्य एवम् स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘बिना मास्क प्रयोग गरेकालाई प्रहरीले भेटेमा तत्काल सचेत बनाउनेछन्,‘अटेर गरेमा कानुनी बाटो खुल्ला छ’ लम्सालले भन्नुभयो । बजार क्षेत्रमा भिडभाडसँगै सामाजिक दुरी कायम गर्न जोखिम रहेको अवस्थालाई मध्यनजर गदैं म्याग्दी उद्योग वाणिज्य संघमार्फत हरेक पसलमा सावुनपानी र दुरी कायम गर्ने गरी घेरा मिलाउन समेत निर्देशन दिइएको छ ।

लकडाउन खुकुलो भएसँगै बाहिरी जिल्लाबाट समेत प्रवेश गर्ने सम्भावना रहेकाले सचेत हुनुपर्ने कमाण्ड पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

‘निर्णय कार्यान्वयनको अवस्थाको अनुगन गरिन्छ,‘जोखिम टेरको छैन्, सर्तक हुनुपर्छ’ प्रजिअ ढकालले भने । यसैबीच प्रहरीले खुकुलो भएपनि कमाण्ड पोष्टले गरेका निर्णयको कार्यान्वयन गर्ने गरी पूर्वनिर्धारित योजना अनुसार परिचालन गरेको जनाएको छ ।

Leave a Reply