मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहँदा कोरोना पुष्टि भएका पर्वतका युवामा अस्पतलबाट कोरोना नसरेको पुष्टि भएको छ । कुश्मा–३ का ३५ वर्षे ती युवकको उपचारमा खटिएका सबैको रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालबाट कोरोना नसरेको पुष्टि भएको हो ।

मोटरसाइकल दुर्घटनामा परेपछि उपचारका लागि पोखरा ल्याइएका उनको उपचारमा संलग्न ७६ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सिइओ एवं प्राचार्य डा. डिसी अग्रवालले जानकारी दिए ।

कुनै ट्राभल हिस्ट्री नभएका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालबाटै कोरोना सरेको अनुमान गरिएको थियो । २१ जेठमा मोटरसाइकल दुर्घटनामा परेर उपचारका लागि पोखरा ल्याइएका युवकमा ३० जेठमा कोरोना पुष्टि भएको थियो

सिइओ अग्रवालले भने, ‘संक्रमण पुष्टि भएलगत्तै चिकित्सक, नर्स, ल्याब टेक्निसियन, सरसफाइकर्मी लगायत ७६ जनाको स्वाब पठाएका थियौं । सबैको नेगेटिभ आयो तर उहाँहरु क्वारेन्टाइनमा हुनुहुन्छ ।’

संक्रमितको टाउकोमा चोट लागेको र जीवन रक्षक शल्यक्रिया गर्दा अस्पतालको न्यूरोसर्जरी टिमले सम्पूर्ण सुरक्षा सतर्कता अपनाएको सिइओ अग्रवालले बताए ।

संक्रमितको हाडजोर्नी सम्बन्धी शल्यक्रिया गर्नुअघि पिसिआर परीक्षण गर्न २५ जेठमा स्वाब परक्षिणका लागि पठाइएकोमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

कोरोना संक्रमण हुन नदिन पूर्ण सुरक्षा सतर्कता अपनाएको र संक्रमित भेटिएपछि न्यूरो आइसियू वार्डलाई सेनिटाइज गरेर मात्र सेवा सूचारु गरिएको अस्पतालले जनाएको छ । संक्रमितको उपचारमा खटिएको टोलीको विकल्पमा बनाइएको अर्को टोलीले अन्य बिरामीलाईसेवा दिइरहेको छ ।

अस्पताल प्रवेश गर्दा नै हात धुने, स्यानिटाइज गर्ने व्यवस्था गरिएको अस्पतालले जनाएको छ । साथै अस्पतालको मुख्य प्रवेश द्वारमा फिभर क्लिनिक, कोभिड क्लिनिक सञ्चालन गरिएको, बिरामीको वर्गिकरण गरेर सम्बन्धित वाडमा पठाउने गरिएको सिइओ अग्रवालले जानकारी दिए ।

अस्पतालले कुरुवा पासको व्यवस्था गरेर बिरामीसँग एक जना मात्र कुरुवा बस्न पाउने व्यवस्था गरेको छ । ‘बिरामीसँग एक जना मात्र बस्ने गरी पास बनाएका छौं । साथै बिरामी र कुरुवा बस्ने ठाउँलाई दैनिक डिसइन्फेक्सन गरिँदै आएको छ,’ सिइओ अग्रवालले भने ।समाधान न्युजबाट

Leave a Reply