नेपाली कांग्रेस म्याग्दीले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण बढाउन माग गरेको छ । नेपालमा महामारीको जोखिम नटरेको भन्दै म्याग्दीबाट पिसिआर परीक्षणका लागि पोखरा पठाइएको रिर्पोटमा ढिलाई, संघीय र प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि गरेको प्रयासप्रभावकारी नभएको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । मंगलबार पार्टी सभापति खम्बीर गर्बुजाले प्रजिअ ज्ञाननाथ ढकालमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाउँदै क्यारेन्टाइन ब्यवस्थित गर्नुपर्ने, जिल्लामै कोरोनाको उपचारका लागि बेनी अस्पतालमा उपकरण थप गर्नुपर्ने, लकडाउनले मर्कामा परेका जनतालाई राहत उपलब्ध गराउनुपर्ने, सरकारी रकम दुरुपयोग रोक्न्ुपर्ने, पहुँच नभई विधिका आधारमा सञ्चालन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

ज्ञापनपत्र सहित जिल्ला प्रशासन कार्यालयको सभाहलमा गरिएको कार्यक्रममा जिल्लामा सत्ताधारीको पहुँचमा कांग्रेसका कार्यकर्तामाथि दवाव दिने, उद्दण्ड मच्चाउने प्रयास भएकाले यस्तो रबैया रहे कडा प्रतिवाद गर्ने सभापति गर्बुजाले बताए । ‘हामी प्रतिपक्षमा भएपनि धेरै विषयमा सहकार्य गरेका छौ,‘अराजकता सिर्जना गर्ने प्रयासलाई रोक्न आवश्यक छ’ गर्बुजाले भने । सोही अवसरमा संविधानसभाका सदस्य रेशमबहादुर बानियाँले संयमित भएकाले कमजोर नसम्झन आग्रह गरे ।

उनले जिल्लामा भइरहेका गतिविधिमा प्रशासनलाई आफ्नो पकटमा राखेर काम गर्ने प्रयास भइरहेको देखेको बताउँदै प्रशासन र प्रहरीको गतिविधिलाई प्रभावित बनाउने प्रयास गर्नेको पहिचान गर्न समेत अनुरोध गरेका थिए । उनले पछिल्ला केही घटनामा कांग्रेस सर्मथकलाई अन्याय भएको र सत्तापक्षकाले खुलेआम कानुन विपरितको काम गरेको समेत आरोप लगाए ।

ज्ञापनपत्र सचिव मिनबहादुर कार्कीले बाचन गरेका थिए । ज्ञापनपत्र बुझ्दै प्रजिअ ढकालले जिल्लामा सबै राजनीतिक दलसँग सहकार्य गरी शान्तिसुरक्षा कायम गर्ने बताउँदै कोरोना रोकथाम सहितका अभियानमा राजनितिक दलको सहयोगलाई धन्यवाद दिएका थिए । पार्टी कार्यालयबाट प्ले कार्ड सहित जिल्ला प्रशासनमा पुगेका थिए ।

Leave a Reply