उमा कँडेल

*************

असारको महिना

हरियालीले ढाकेको पहाड

अनि सेतो बादलले छोपेको अकाश

उस्तै देखिँदा

एउटा नयाँआगन्तुक सडकमा

हिंडिरहेछ

यो नया भुगोलमा बिल्कुल नौलो

देखिन्छ ऊ

म घरको झ्यालबाट बाहिर

हेरिइरहेछु

एक हुल किसान

घुम ओडेर फर्किरहेछन मेलाबाट

गौँथलीका बचेरा,

बार्दलीको गुँडमा चिरबिर

गरिरहेछन्

आमा आउने बाटो कुर्दैछन सायद

एक जोडी काग आएर

आँगनमा चारो खाइरहेका

दुइटा चल्ला टप्प टिपेर लगे।

लाग्छ, सबैले मलाई सोधिरहेछन्

तिमीले रोपाईँ गर्नुपर्दैन?

हिलोमा भिज्नुपर्दैन ??

चंखे दाइले अस्ति रोपेको

खेतमा

कलिला धानका बोट नाचिरहेछन्

सुसाइरहेको बतासमा टाउको

जुधाउँदै

लाग्छ, तिनिहरु भलाकुसारी

गरिरहेछन्

नयाँ जिन्दगीको

साँझपखको घाम

खेतको गह्रामा परावर्तित हुँदै

मेरो झ्यालमा ठोकिन आइपुग्छ

झ्यालबाट यी सबदृश्य हेर्दै

असारको आत्तुरीमा पनि

म फगत कोठामै बसिरहेछु

भित्ताको घडीले एकनास ‘टिक-

टिक-टिक’आवाज सँगै

गिज्याईरहेछमलाई

म यसमा पटक्कै बेपर्वाह छैन

वस् ! खोजिरहेछु

म भित्रको ज्युँदो मान्छे

जो बर्षौँ पहिले मरिसकेको छ ।