बेनी नगरपालिका-३,भकिम्लीको मानब वस्तीदेखि करिव आधा घण्टाको उकालो उक्लिएपछि घनाजंगलको पूर्वतर्फ अक्करेभीरको टुप्पोमा अवस्थित स्वर्गाआश्र नजिकै सडक सञ्जाल पुगेको छ । आश्रमको पुरानो सत्तललाई भत्काएर नयाँ बनाईदै छ। आश्रमको अगाडीपट्टी चट्टानको माथि पानीको कुवा,धुपी सल्लाका सर्लक्क परेका रुख र ती रुखको विचमा ग्रामिण शैलीको ढुङ्गाले छाएको २ तले परम्परागत घर छ ।

उक्त आश्रमको मुख्य संरचना भएकाले बाहिरी भाग मर्मत भइरहेकको छ भने पुरानो स्वरुपलाई यथावत राखिएको छ । अनकन्टार ठाउँ र घना जंगलको पूर्वपट्टी अग्लो डाँडोमा अवस्थित आश्रममा अहिले धमाधम पूर्वाधार थपिदै छ ।

आश्रममा मजदुरले धमाधम काम गरिरहेका छन् भने तपस्वीनि ईश्वरानन्द सरस्वतिले मजदुरलाई आश्रमको महत्वका बारेमा बताउँदै प्रोत्साहन गर्ने गर्नुभएको छ ।वडाको योजना अन्तरगत बेनी नगरपालिकाले ९ लाख विनियोजन गरेपछि आश्रमको संरचना बनाउने कार्यले तिब्रता पाएको छ ।

पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको आश्रमलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउने गरी आवश्यक संरचना बनाउने कार्यले तिब्रता पाएको स्वर्गाआश्रम ब्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले बताउनुभयो ।

‘यहाँ हरेक बर्ष संरचनाका लागि बजेट माग गरिन्छ,‘यो सुन्दर गन्तब्य बनाउने प्रयासमा स्थानीयले धेरैबर्ष पसिना बगाएका छन्’ जिसीले भन्नुभयो । यहाँको पहाड आसपासका क्षेत्र शताब्दी अगाडी ऋषि महर्षिहरूको तपस्या स्थल छन्,‘सप्तऋषिहरूको पहाडको रुपमा समेत ब्याख्या गरिन्छ ।

स्वर्गाआश्रम आसपासका क्षेत्रमा तत्कालिन समयमा तपस्या गरिएका ओडारहरू समेत भेटिन्छन्। पाँच दशक अगाडी प्रमानन्द गुरू र छविलाल गुरू नाम गरेका स्वामीले समेत तपस्या गरेको उक्त स्थान आसपासमा रहेका पहाडलाई सप्त ऋषि पहाडको रुपमा समेत चिनिन्छन् ।

वडाअध्यक्ष पदम पुनले समुदायले धेरै लगानी गरेको बताउँदै नगरपालिका, प्रदेश र संघीय सरकारमार्फत बजेट आवश्यक रहेको बताउनुभयो ।‘अहिलेसम्म नगरपालिकाबाटै ठूलो बजेट आएको छ,‘अझै ५० लाखभन्दा धेरै बजेट आवश्यक पर्छ’ पुनले भन्नुभयो ।यसअगाडी मर्मतका लागि संविधानसभा सदस्य नवराज शर्माले कोषबाट १ लाख उपलब्ध गराए बाहेक कुनैपनि सरकारी बजेट प्राप्त हुन सकेको छैन् ।

स्वर्गाश्रम मन्दिरमा खानेपानीको पहँुच छ । नियमित विद्युतको आवश्यक छ । यता बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले धार्मिक गन्तब्यमा पूर्वाधार विस्तारलाई आवश्यकता अनुसार प्राथमिकता दिइएको बताउनुभयो । ‘स्वर्गाआश्रम उत्तम गन्तब्य हो,‘समुदायको सक्रियताबाट उत्साहित छु’ श्रेष्ठले भन्नुभयो ।

प्राकृतिक रुपमा अत्यन्त रमणीय,आध्यात्मिक आस्थाको केन्द्र,पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमबाट सातओटा तीर्थस्थलको दर्शन गर्न सकिन्छ । पवित्र कालीगण्डकी,महारानी थान,जगन्नाथधान, गलेश्वर धाम, मुक्तिनाथ,रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको यहाँबाट दर्शन गर्न सकिन्छ।

स्वर्गाश्रमको ढोकाबाट पूर्वतर्फ सुन्दर बेनीबजारसंगै कालीगण्डकी,महारानी थान,उत्तरतर्फ गलेश्वरधाम,जगन्नाथधाम,मुक्ति क्षेत्र लगाएतका तीर्थस्थलहरुको अवलोकन गर्न सकिन्छ । आश्रमको विकासमा उपमेयर सञ्जु बरुवालले समेत विषेश प्राथमिकता दिनुभएको छ ।

पटकपटक भ्रमण सहित न्यूनतम आवश्यकतालाई सम्बोधनको प्रयासमा उपमेयर बरुवालले समेत सहयोग गरेको स्थानीयको भनाई छ ।

Leave a Reply