भौगोलिक बिकटता, भिरालो जमिनमा जोखिमपूर्ण यात्रा गदैं आइरहेका म्याग्दीको धौलागिरी गाउँपालिका-४ मुदीका जनतालाई गाउँबाट सदरमुका बेनी लगाएतका क्षेत्रमा सुरक्षित पैदलयात्रा गर्न पनि ठूलो यूद्ध जितेजस्तै हुन्थ्यो ।

भिरमा बनाइएका साघुँरा पदैलमार्गमा ज्यानलाई हत्केलामा राखेर हिड्ने गरेका मुदीबासीले घरआगनमै पुग्ने गरी सडक सञ्जालमा जोडिएको छ।  गाउँपालिकाको केन्द्र रहेको मुनाको फलियागाउँ–दर हुदै सिमवाङ हुदै अक्करे भिरमा जोखिम मोल्दै सडक मुदी गाउँमा पुगेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताईन् ।

‘गाउँ सडक सञ्जालसँग जोडिएको छ,‘अब जनतालाई सहज आवतजावतको वातावरण बन्छ’ पुनले भनिन् ।गाउँपालिकाको गौरवको योजना अन्तरगत रहेको सडकलाई भविस्यमा आवश्यतका अनुसार स्तरोउन्नती समेत गरिने अध्यक्ष पुनको भनाई छ । ‘सडक सञ्जालमा दुर्गम बस्ती जोडिदाँ फरक अनुभुती भएको छ,‘सडक नहुदाँ समुदायले धेरै कष्ट भोग्नुपरेको छ’ पुनले भनिन् ।

गाउँपालिकाले दुर्गम बस्तीमा सडक सञ्जाल पुर्याउन प्राथमकितामा राखेको थियो । सडक सञ्जाल जोडिएपछि खाम्ला, खारा, हिलापोखरी, ताकम लगायतका क्षेत्रबाट करिब ३ घण्टाको पैदलमा गन्तब्यतर्फ जाने गरेका मुदीबासीलाई अहिले करिब ३० मिनेटमा बाटो छोटिएको छ ।

सडक विस्तारले मुदी गाउँका २ सय ३० घरधुरीका साथै नेरवाङ, अर्चे, बारबाङ, खोरिया, खिवाङ, चेचुङ, बगरका ५ सय ५८ घरधुरी लाभान्वित हुनेछन् । गाउँपालिकाले मुदीमा सडक जोड्न ५० लाख रुपैयाँ बिनियोजन गरेकोमा करिब ४६ लाखमा सम्झौता भएको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि बिजय घर्तीले सडक सञ्जाल गाउँमा पुर्याउन कोरोनाको जोखिममा समेत निरन्तर काम गरेको बताए । गाउँपालिका अगाडी जिविसमार्फत राष्ट्रिय योजना आयोगबाट समेत सडक विस्तारमा बजेट विनियोजन भएको थियो ।

सडकसञ्जाललाई मापदण्ड अनुसार ६ मिटर फराकिलो बनाउने गरी जोखिमपूर्ण स्थानमा आवश्यकता अनुसार काम समेत गरिने भएको छ ।गाडी चढ्ने रहरसँगै सहज ढुवानी सेवा पनि पाउने भएपछि स्थानीय खुशी देखिएका छन् । यसैबीच वडा नं ५ मल्कबाङमा पनि पूर्वाधार विकास कार्यालय मार्फत सडक सञ्जाल विस्तारको काम भइरहेको छ ।

मराङ–मल्कबाङ–पाखापानी सडक, ताकमको कापलडाँडा हुदै छिमेकी मालिका गाउँपालिकाको देविस्थान जोड्जे सडक समेत विस्तार भएको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

यता वडा नं २ लम्सुङ र लुलाङ गाउँलाई बेवास्ता गरी खोरिया हुदै सडक सञ्जाल गरेपछि स्थानीयको चर्को विरोधले दुई करोड रुपैयाँ बजेट फ्रिज हुने जोखिम बढेको छ । ठूलो बस्तीलाई उपेक्षा गरिएको भन्दै लम्सुङ र लुलाङबासीले विरोध गरेका छन् । त्यस्तै छिमेकी वडाबाट तत्काल सडक जोडिने सम्भावना नभएक गूर्जामा आन्तरिक सञ्जाल जोड्ने गरी सडक विस्तारको काम भइरहेको छ । सडक सञ्जालको पहुँच नहुँदा औषधिमूलो समेत गर्न महंंगोमा हेलिकप्टरमा आवतजावत गर्ने गरेका गूर्जाबासीले सडक सञ्जाललाई देउराली हुदै ल्याउन सकेमा सहज हुने बताइरहेका छन् ।

Leave a Reply