प्रकृतिले दुई परिवारका नौ सदस्यहरुलाई एकै चिहान बनाएको छ । ‘ऋण लागोस् तर दिन नलागोस्’ भन्ने उखान पर्वत दुर्लुङ्का बासिन्दाहरुमा यतिखेर फेल खाएको छ ।  जेठ ३१ गते शनिबार राति अन्दाजी ८/३० बजेको समय उनीहरुका लागि कालो रात बनेर आयो । कुष्मा नगरपालिका-३, दुर्लङ्, काफलचौर काउलेमा भीषण वर्षाका कारण दुई घरका नौ जना परिवारले ज्यान गुमाउन बाध्य भए ।

अहिलेसम्मको इतिहास हेर्दा पर्वतमा यस्तो प्रकारको प्राकृतिक घटना घटेको देखिदैन । पहिरोमा परि ज्यान गुमाउनेमा ५३ वर्षिय तुलबहादुर थापा (जो रिटायर्ड आर्मी) रहेका छन् भने उनकी श्रीमती ४८ वर्षिय मीनकुमारी थापा रहेकी छन् ।

तुलबहादुर थापाकी ३० वर्षिय छोरी विश्वा थापा र विश्वाको छोरा १६ वर्षिय विवेक मगरले पनि यस पहिरोमा ज्यान गुमाउन पुगेका छन् । तुलबहादुरका नाति (छोरातर्फ) १५ वर्षिय सुनिल थापा र ७ वर्षिय नातिनी विविशा थापा पनि यसै पहिरोमा विलिन भएका छन् । तुलबहादुरका छोरा अमर थापा ६ जना परिवारको (बाबु, आमा, बहिनी, भाञ्जा, छोरा र छोरी) एकैपटक किरिया बसेका छन् ।

आफ्नो बाबू, आमा, छोरा, छोरी, बहिनी र भांजाको किरिया एक ब्यक्तिले गर्न पर्दाको कथा अहिलेसम्म हामीले फिल्ममा पनि देख्न पाएका छैनौं । कल्पना पनि गर्न नसकिने यो दृष्य आँखा अगाडि देख्नपर्दा जोकोहीलाई पनि आफू सपनामा रहेको महसुस हुन पुग्दछ ।

त्यसैगरि ३४ वर्षिय कमला बिक, उनको १३ वर्षिय छोरा जेनिश बिक र छोरी ७ वर्षिय प्रमिशा बिकले पनि यसै पहिरो परेर ज्यान गुमाएका छन् । कमला बिकका श्रीमान रोजगारीका सिलसिलामा अहिले साउदीमा रहेका छन् । पहिरोले आफ्नो घरपरिवार नै उजाड बनाएपछि अहिलेसम्म पनि उनको होस खुलेको छैन ।

विक परिवारका तीन सदस्यको कमलाका जेठाजु दाइ चन्द्रबहादुर बिक किरिया बसेका छन् । थापा र विक परिवारको घर पहिरोमा परेपछि किरिया बस्ने घर समेत नभएका कारण अरुकै घरमा किरिया बसिरहेका छन्। पहिरोका कारण थापा र बिक परिवारको घर र गोठको नामनिशान नै छैन ।

थापाको गोठमा रहेको एक भैसी, एक गोरु र केही कुखुराहरु, कमला बिकको एक भैसी र केही कुखुराहरु समेत पहिरोले पुरेको छ भने छिमेकी भुवन गिरिको घर र गोठ समेत पुरै भत्काएको छ ।माने रोपेर मुरी फलाउने यस समय काफलचौर काउलेका बासिन्दाहरु शोकमात डुवेका छन् नै पहिरोका कारण भोक र निद्रा विहिन बनेका छन् ।

उक्त पहिरोबाट दश घरहरु प्रभावित बनेका छन् । बस्तीमाथि रहेको ढकाल बारीमा लामो समयदेखि फुटेको पानीको पाइप, त्यही पाइपबाट निस्किएको पानीले बस्तीमाथिको भागलाई पुरै भिजाएको, ढुङ्ग्यान माटोमाथि रहेको भिरालो बस्ती भएको र ३१ गते राति लगातार तीन घण्टासम्म परेको मुशलधारे पानीका कारण उक्त भीषण पहिरो गएको देखिन्छ ।

Leave a Reply