म्याग्दीको मंगला गाउँपालिका-५, अर्मनको छिस्वाङमा धान रोप्दै गरेको दृष्य । असारको सुरुआतसँग म्याग्दीका ग्रामिण क्षेत्रमा रोपाइ चटारो सुरु भएको छ । लगातारको बर्षासँगै पानीको मुल फुट्न थालेपछि मानो रोपेर मुरी फलाउने किसानहरुले अहिले छुपुछुपु धान रोपेको दृश्यहरु देखिन थालेका छन् । कोरोना भाइरसको जोखिमले लकडाउनका कारण सहरबाट गाउँ फर्किएकाहरु धान रोपाईमा भेटिने गरेका छन् । ग्रामिण क्षेत्रमा धमाधम रोपाईसँगै मेलापातमा बाख्लो उपस्थितीले रौनतका छाउने गरेको छ । म्याग्दीको प्रमुख अन्नबालीको रुपमा रहेको धान असारमा रोपेसँगै कात्तिक र मंसिर महिनामा भित्राउने गरिन्छ ।जिल्लाका स्थानीय तहले असार १५ लाई धान दिवसको रुपमा मनाउने गरेका छन् । जिल्लाको कुल क्षेत्रफल २ लाख २९ हजार ७ सय ६ हेक्टर रहेकोमा कुल खेतीयोग्य जमिन ३० हजार ८ सय ५६ हेक्टर अर्थात् १३ दशमलव ४३ प्रतिशत मात्रै रहेको छ ।म्याग्दीमा मार्सी, लुम्ले, जेठोबुढो, गौरिया, गुडुरा, दर्माली, भट्टेलगायत जातको धानखेती गर्ने गरिएको छ । गतबर्ष धानखेती घटेको थियो । भित्राउने समयमा असिनापानीले ठूलो क्षती पुगेपछि बेनी नगरपालिका, मंगला गाउँपालिकाका कृषक निरास भएका थिए ।

Leave a Reply