कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गदैं शुक्रबार रातीदेखि लागु हुने गरी हिँडडुलमा कडाई गरिएको छ । गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मा अनुमति विना वा अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।

मापदण्डमा लकडाउन खुकुलो भएपनि रातको समयमा हिँडडुलमा कडाई गरिएसँगै प्रहरीले गस्ती र नाकाहरूमा चेकजाँच गर्ने छ । रातिको समयमा नागरिकलाई हिँडडुल गर्न कडाइ गर्ने ब्यवस्था बारेमा जानकारी प्राप्त भएसँगै जिल्लामा समेत लागु भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो।

‘लकडाउन खुकुलो भएपछि रातको समयमा हिड्ने गरिएपनि अव मापदण्ड अनुसार नै जिल्लामा योजना बनाएर अगाडी बढ्छौ’ प्रजिअ ढकालले भन्नुभयो। उक्त परिपत्र अनुसार नै सुरक्षा निकायलाई जानकारी गराइसकिएको प्रजिअ ढकालको भनाई छ ।

मापदण्डमा कोरोनाको जोखिम कायमै भएकाले सुरक्षा सम्बन्धि मापदण्ड अपनाएर नियमित काम गर्ने, दुई मिटरको सामाजिक दुरी कायम गर्ने, मालसमान ढुवानी गर्ने क्रममा चालक र सहचालक बाहेक यात्रु ओसारपोसार गर्न नपाउने,विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध, उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने पनि भनिएको छ ।

त्यस्तै आवश्यक काम बाहेक ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई घरबाट बाहिर ननिस्कन आवश्यक सहयोग गर्न समेत अपिल गरेको छ । सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएपनि विभिन्न गतिविधिमा आवश्यक कडाई गरेको छ । रातको समयमा एकठाउँबाट अर्को ठाउँमा जाने, अपराधिक गतिविधिको जोखिमलाई समेत मध्यनजर गरी हिँडडुलमा कडाई गरेको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply