कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन खुकुलो भएपछि राजधानीवरपर हुने गरेका योगाभ्यासका कक्षाहरू नियमित भर्चुअल माध्यमबाट सञ्चालन भइरहेका छन्।

लकडाउन खुकुलो भएसँगै मानिसहरू सामान्य जीवनमा फर्कन प्रयासरत भइरहँदा राजधानीको गौशालास्थित ओम आरोग्य आश्रमकी योग प्रशिक्षक सरिता रेग्मीको दैनिकी व्यस्ततामा गुज्रिरहेको छ। कारण, उनले भर्चुअल माध्यमबाट नियमित योगाभ्यासको कक्षालाई निरन्तरता दिइरहेकी छन्।

‘योग नेपालीको दैनिकीको एक अंग बनिसकेको हुँदा भर्चुअल माध्यमबाट यसलाई निरन्तरता दिइरहेकी छु,’ उनले भनिन्, ‘कोरोना भाइरस महामारीको त्रासका कारण आत्तिएका मानिसहरू नियमित भर्चुअल योग कक्षामा सहभागी भएर डेढ घन्टा प्रशिक्षण लिइरहेका छन्।

यसबाट समाजमा सकारात्मक भाव बढ्दो छ।’ उनले स्कुलमा अध्ययरत विद्यार्थीदेखि वृद्धवृद्धा गरेर नियमित ४० जनालाई डेढ घन्टाको भर्चुअल योग प्रशिक्षण दिइरहेकी छन्।  बुटवलकी विपना श्रेष्ठले लकडाउनयता नियमित भर्चुअल माध्यमबाट योगको प्रशिक्षण लिइरहेकी छन्। घरमा केही दिन एक्लै प्रशिक्षणमा सहभागी भएकी उनी अहिले परिवारसहित भर्चुअल योग प्रशिक्षण सहभागी हुने गरेकी हुन्।

(180621) — ATHENS, June 21, 2018 (Xinhua) — Two women practice Yoga at Filopappou Hill near Acropolis in Athens, Greece, on June 20, 2018. The UN General Assembly declared June 21 as International Yoga Day in 2014. (Xinhua/Lefteris Partsalis) (zxj)

‘लकडाउनसँगै फुर्सदमा रहेका घरका सदस्यहरू आत्तिएको महसुस भएसँगै मैले निरन्तरता दिएको प्रशिक्षणमा सहभागी गराएँ,’ उनले स्मरण गरिन्, ‘केही दिन उनीहरू असहज भए पनि अहिले मसँगै योग गरिरहेका छन्।’

लामो समयसम्म सुस्त अवस्थामा रहेको योगको पछिल्लो समयमा आएको जागरणले समाजलाई सकारात्मक प्रभाव पारेको छ। योगमा रुचि बढेसँगै मानिसहरूको खानपान र जीवनशैलीमा समेत परिवर्तन आउन थालेको छ।

योगलाई प्राथमिकतामा राखेर आज (आइतबार) ‘स्वास्थ्यका लागि योग–घरमा योग’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। छैटौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै योग अभ्यास प्राचीन सभ्यताको मौलिक उपज भएको बताए।

‘योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो,’ उनले विज्ञप्तिमार्फत भने, ‘मानसिक अन्तर्यात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको छ। तनाव, अवसाद, द्वेष, ईष्र्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुसी र सकारात्मक मनोचेतनाले डो¥याउन योग मानवीय जीवनको अंग बन्नु आवश्यक छ। योगको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने र यसका सरल विधिहरूसम्म जनसाधारणको पहुँच पु¥याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनुपर्छ।’

उनले योग अभ्यासले तनाव व्यवस्थापनमा सहयोग गर्ने तर्क गरेका थिए। ‘योग हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्दछ,’ विज्ञप्तिमा उल्लेख थियो, ‘मन, शरीर र कर्मको दूरी हटाई एकरसता प्रदान गर्नु योग हो। योग अभ्यासले तनाव व्यवस्थापनमा सघाउँछ र मानव जीवनलाई स्वस्थ्य र नैतिकवान् बनाउन मद्दत पु¥याउँछ। हाम्रो प्राचीन शास्त्रले योगलाई मोहको त्याग र कर्मको कुशलताका रूपमा व्याख्या गरेका छन्।’

प्राचीन शास्त्रले योगका आठवटा चरण यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको अभ्यासबारे व्याख्या छ। सो अवधिमा नेपालमा योग अभ्यास गर्न आएका ऋषिमुनिहरूले ध्यान, आध्यात्मिक चिन्तन एवं आयुर्वेदिक पद्धतिको विकास गरेका थिए। ‘यतिबेला सिंगो विश्व सँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधिरहेका छौं। यस्तो बेला औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय हुन्। यी विषयमा योग शास्त्रले ज्ञान दिँदै आएको छ। आधारभूत स्वास्थ्य सेवाभित्र योग र वनस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिँदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्छौं। समृद्ध नेपाल–सुखी नेपालीे हाम्रो राष्ट्रिय आकाङ्क्षा छ। शारीरिक एवं मानसिक रूपले स्वस्थ्य र निरोगी नागरिक यसका मुख्य आधार हुन्,’ विज्ञप्तिमा उल्लेख थियो।

महामारीले त्रास सिर्जना गरिरहेको अवस्थामा योग अभ्यासले प्रतिरक्षा र स्वस्थ जीवनको महत्वलाई प्राथमिकता दिएको छ। कोरोना भाइरस महामारीविरुद्ध सामाजिक दूरीका उपायका कारण संयुक्त राष्ट्रसंघले ‘स्वास्थ्यका लागि योग–घरमा योग’ नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाइरहेको छ। विश्व स्वास्थ्य संगठनले योगलाई स्वास्थ्य सुधार गर्ने माध्यमको रूपमा ग्लोबल एक्सन प्लान एन्ड फिजिकल एक्टिभिटी (२०१८–२०३०) मा उल्लेख गरेको छ।

सो अवसरमा विगतका वर्षहरूमा पतञ्जली योगपीठले आयोजना गर्दै आएको योग शिविरलाई यसपटक भर्चुअल माध्यमबाट निरन्तरता दिइने जानकारी पतञ्जली योगपीठ नेपालका ट्रस्टी शालिग्राम सिंहले गराए। ‘यसपटक हामीले भर्चुअल माध्यमबाट अन्तर्राष्ट्रिय योग दिवसको सप्ताह मनाउन लागि परेका छौं,’ उनले भने, ‘नेपालमा उत्पत्ति भएको योगबारे अहिले मानिसहरूले चासो राख्न थालेपछि देशभरका विभिन्न टोलमा सानो समूहमार्फत सामाजिक दूरी कायम गर्दै योग अभ्यास हुनेछन्।’

कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन गरेसँगै पतञ्जली योगपीठले भर्चुअल माध्यमबाट योग कक्षा सञ्चालन गरिरहेको छ। ‘योगले प्रतिरोधात्मक क्षमता बढाउने भएकाले हरेक दिनजसो दुई सय हाराहारीका सहभागीहरू भर्चुअल कक्षामा हुने गरेका छन्,’ उनले भने, ‘योग सिक्न इच्छा हुनु अत्यावश्क छ। यसले मानसिक र शारीरिक रूपमा समेत बलियो बनाउने हुँदा योग चौतारी भर्चुअल माध्यममार्फत दैनिक डेढ घन्टाको कक्षालाई निरन्तरता दिइरहेका छौं। विभिन्न अध्ययनले पुष्टि गरेका छन् कि योग गर्ने मानिस तुलनात्मक रूपमा निरोगी हुन्छ। त्यसैले निर्धक्क भएर योग गरौं र निरोगी बनौं।’

कोरोना भाइरस महामारीको अवस्थामा विदेशबाट नेपाल फर्किएका नागरिकलाई राख्न देशभर बनाइएको क्वारेन्टिनमा सामाजिक दूरी कायम गर्दै दैनिक योग कक्षा सञ्चालन भइरहेको छ। योग गुरुहरू देशभरका क्वारेन्टिनमा बसिरहेका मानिसहरूलाई फराकिलो चौर र आँगनमा योग सिकाउन लागिपरेका छन्।

तीनपटक ‘ओम’ उचारणसहित शारीरिक कसरत हुने उठबस, सिंहासन र सूर्य नमस्कार गराउँदै क्वारेन्टिनमा बसेकाहरूलाई श्वासप्रश्वास र घाँटीको समस्या निदान र प्रतिरोधक क्षमता बढाउन योग अभ्यास गराइने गरिएको छ। त्यसबाहेक उद्यायी प्राणायाम, भास्त्रिका र कपालभातीलगायत योगको संगीतमार्फत अभ्याससमेत गराइन्छ। केही क्वारेन्टिनमा सञ्चालन भइरहेका योग कक्षामा स्यानिटाइजर र मास्क अनिवार्य गरिएका छन्। नेपालमा २०७२ सालदेखि राष्ट्रिय योग दिवस माघ १ गते मनाइन्छ। Source: nagariknews.com

Leave a Reply