---Advertisement---

मालिका गाउँपालिकाले आगामी बर्षको निति तथा कार्यक्रम पारित

On: June 21, 2020 11:58 AM
Follow Us:

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले रोजगार, बाँझो जमिन पूर्ण सदुपयोग लगायतका लोकप्रिय कार्यक्रमलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

शनिबार दरबाङमा सम्पन्न भएको गाउँसभामा आर्थिक वर्ष २०७७÷७८ का लागि अध्यक्ष श्रीप्रसाद रोकाले कोरोना भाइरस रोग (कोभिड–१९)का कारण समस्यालाई मध्यनजर गरी कृषियोग्य जमिनको सदुपयोग गर्ने भूमी बैंकको स्थापना, अनुदान, यूवा, महिला र लक्षित समुह केन्द्रित गदैं विकास निर्माण, शिक्षा, रोजगारी र आर्थिक उर्पाजनमा केन्द्रित भएर आगामी बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

‘गाउँपालिकाले सम्भव भएका योजनालाई प्राथमिकतामा दिएर निति बनाएका छौ,‘हरेकमध्ये प्राथमिक योजनालाई आधार बनाइएको छ’ अध्यक्ष रोकाले भन्नुभयो ।

अध्यक्ष रोकाले एकबर्ष रोजगारमुलक कार्यक्रमहरुलाई प्राथमिकता दिनुपर्ने अवस्थाका कारण गाउँपालिकाभित्रका जनता खुसी हुने गरी कार्यक्रम ल्याइएको दावी गर्नुभयो ।

आगामी बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्ने जिल्लाकै पहिलो स्थानीय तह समेत रहेको गाउँपालिकाले २६ पान्ना लामो निति तथा कार्यक्रममा हरेक नयाँ र सन्देशमुलक अभियानमा नारा समेत प्रस्तुत गरेको छ ।

कोभिड–१९ का कारण रोजगारी गुमेर धमाधम गाउँ फर्किने यूवाहरूलाई कृषि, पशुपालन लगायतका योजनाहरूमा जोड्ने, महिलालाई उद्यमशिलता तालिम, मोटरबाटो विस्तार गरिएका क्षेत्रमा बृक्षारोपण, आन्तरिक रुपमै आत्मनिर्भर कृषि, पशुपालन लगायतलाई प्राथमिकता दिएको उपाध्यक्ष खरमायाँ विटालुले बताउनुभयो ।

‘निति हाम्रो सपना र जनताका आवश्कतामा केन्द्रित छ,‘यही कमाउने, यही रमाउने कार्यक्रमहरुलाई प्राथमिकता दिएका छौ’ उपाध्यक्ष बिटालुले भन्नुभयो । उत्पादनशील र जनसहभागीलाई नै नितिमा प्राथमिकता दिएको बताउँदै विगतका कमी–कमजोरलाई समेत आगामी बर्षको बजेटमा सुधार गर्ने बताउनुभयो ।

निति तथा कार्यक्रममा गाउँपालिका भित्रका ७ वटै वडाका अध्यक्षले फजुल खर्च घटाउने, विकास–निर्माणमा जनसहभागिता, रोजगारमुलक कार्यक्रममा बाहिरबाट जनशक्ती ल्याउने कार्यलाई निरुत्साहित गर्ने, कृषि उत्पादनको बजारीकरणमा गाउँपालिकाले सघाउने, अनुदानलाई आवश्यकतामा केन्द्रित गर्ने,आर्थिक गतिविधि बढाउने, उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी गर्ने, आन्तरिक रोजगार केन्द्रित गर्ने, गौरवका कार्यक्रमहरुलाई समयमै सम्पन्न गर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका थिए । यसैबीच गाउँपालिकाको निति तथा कार्यक्रम पारित भएको छ ।

आगामी असार १० गते निति तथा कार्यक्रममा केन्द्रित भएर बजेट प्रस्तुत गर्ने प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिनुभयो ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।