म्याग्दीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रोजगार केन्द्रित बजेट भनेर प्रचार गरेपनि मोटरबाटो र विभिन्न प्रयोजनका लागि भवन निर्माणमा नै बजेट खन्याएका छन् ।

कोरोना भाइरस (कोभिड १९)का कारण गत चैत महिना यता देखिएको समस्यालाई मध्यनजर गरी कृषि, पशुपालन लगाएत उत्पादनमुखी क्षेत्रमा केन्द्रित भएर बजेट लाई प्राथमिकता दिने बताए पनि मोटरबाटमा नै बजेट खन्याउने परम्परावादी सोंचबाट यहाँका जनप्रतिनिधि र राजनीतिक दलका प्रमुखहरु मुक्त हुन सकेका छैनन् ।

सदरमुकाम बेनीसंगै जोडिएको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा काइते तरिकाले योजना छनोट गरिनुका साथै रोजगार र कृषकहरुको हितमा हुनेगरी एकसुको पनि बजेटको माग गरिएको छैन ।

औपचारिकताका लागि वडाका केही महिला र पुरुषहरुलाई भेला गराइ उनीहरुसंग कुनै राय नलिइकन एक÷दुई जना व्यक्तिको इच्छा अनुसार योजनाको टिपोट गरी नगरपालिकामा माग गरिएको छ ।
त्यसरी टिपोट गरिएका योजनाहरु ९९ प्रतिशत अनुत्पादक र परम्परावादी नै रहेका छन् ।

आवश्यकता नै नभएको तर वस्तीका लागि अत्यधिक जोखिम रहेको ठाउँमा मोटरबाटो खन्नका लागि ५ लाख रुपैयाँ बजेट माग गरिएको छ । संघीय,प्रदेश र स्थानीय गरी तीन तहसंग माग गरिएको बजेटमा अधिकाँश बजेट मोटरबाटो निर्माण, स्तरोन्नति रहेको छ । त्यहाँ रोजगारमूलक कुनै पनि बजेटको माग गरिएको छैन ।

कोरोनाका कारण स्वदेश तथा विदेशबाट धमाधम गाउँमा फर्किएर कृषि र पशुपालनमा चासो देखाउन थालेपछि यस वर्षको बजेटलाई उत्पादनमुखी र रोजगारमूलक क्षेत्रमा केन्द्रित गर्न स्थानीय तहले वडास्तरबाट नै कार्यक्रमहरु बनाएर अगाडी बढ्ने जनप्रतिनिधिहरुले बताए पनि त्यो पूरा हुन सकेको छैन ।

संघीय सरकारमार्फत कोरोना केन्द्रित बजेटलाई प्राथमिकता दिन निर्देशन आए पनि स्थानीय तहले ठूला योजनामा नै बजेट केन्द्रित गरेका स्थानीयले बताएका छन् ।

उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता भनाइ मात्रै
कोरोनाका कारण विदेशमा रोजगारी गुमाएकाहरु समेत फर्किने भएकाले उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिने जनप्रतिनिधिहरुको भनाइ केवल भनाइमा मात्रै सीमित रहेको छ ।‘कोरोनाबाट सृजित समस्यामा केन्द्रित हुन सबैलाई निर्देशन दिइएको छ,विकास निर्माणका योजनाहरुले समेत निरन्तरता पाउँछन्’ बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले भने ।

वडास्तरबाट आउने योजनामा उत्पादनमुखी क्षेत्रलाई पहिलो आधार बनाउन समेत निर्देशन दिएको प्रमुख श्रेष्ठले बताए । तर नगरप्रमुख श्रेष्ठको निर्देशन वडाका जनप्रतिनिधिहरुले टेरेनन् ।उनीहरुले आफू खुसी योजना बनाएर बजेट माग गरेका छन् । जसको ज्वलन्त उदाहरण बेनी नगरपालिका वडा नं २ को बगरफाँट बनेको छ ।

कोरोना रोकथाम र व्यवस्थापकीय कार्यमा ध्यान
मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले यस वर्षको बजेटमा कोरोना भाइरस रोकथाम,नियन्त्रण र व्यवस्थापकीय कार्यमा बढी ध्यान दिइएको बताए । ‘उत्पादनमुखी क्षेत्रमा बजेटले प्राथमिकता पाउँछ,कृषिमा आत्मनिर्भर बनाउने अवसरको रुपमा लिएका छौं’ अध्यक्ष रोकाले भने । मंगलाको अवस्था बेनी नगरपालिकाको भन्दा केही फरक रहेको छ । मंगलामा कोरोना रोकथामका लागि स्थानीय स्तरबाटै बढि माग भएको र जनप्रतिनिधिहरु पनि अलि उदार रहेकाले कोरोना रोकथाम र व्यवस्थापकीय कार्यमा बढि ध्यान गएको हो । स्थानीय बजेट प्रभावकारी बनाउन वडास्तरका योजनाहरुमा समेत गहिरो चासो दिएर अगाडी बढेको अध्यक्ष रोकाले बताए । अहिले आगामी वर्षको नीति,कार्यक्रम र बजेट निर्माणको तयारीमा रहेको उनले जानकारी दिए ।


धवलागिरिमा बाँझो जमिन राख्न नपाइने नीति
धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बाँझो जमिन राख्न नपाइने नीति बनाइसेको बताउँदै पालिकाको प्रमुख आवश्यकतालाई केन्द्रित गरेर अगाडी बढ्ने बताइन् । समुदायलाई सीपयुक्त बनाइ स्वरोजगार केन्द्रित बजेटलाई प्राथमिकता दिनुको विकल्प नभएको उनको भनाइ छ । जमिनको सदुपयोग गर्नेलाई प्रोत्साहत सहित माटो सुहाउँदो खेतीलाई प्राथमिकता दिइएको उनले बताइन् ।
अन्नपूर्णले किसानलाई धनी बनाउने

त्यसै गरी अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उत्पादनमुखी बजेटलाई आधार बनाएर किसानलाई धनी बनाउने, पर्यटन लगाएतका क्षेत्रमा कोरोनाले परेको असरलाई ध्यान दिएर बजेट तयार गर्ने बताएका छन् । म्याग्दीका जनप्रतिनिधिहरुले उत्पादन र रोजगारमुखी बजेटलाई प्राथमिकता दिइने बताइरहदा यहाँका राजनीतिक दलका प्रतिनिधिहरुले आआफ्नो अनुकुलको बजेट ल्याउन जनप्रतिनिधिलाई दवाव दिइरहेका छन् ।
अन्नपूर्ण गाउँपालिकाको बजेट ४१ करोड
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ११ औ गाउँसभाबाट करिब ४१ करोडको बजेट पारित गरेको छ । आगामी आर्थिक बर्षका लागि ४० करोड ९४ लाख २६ हजारको बजेट सार्वजनिक गरिएको हो। कोरोनाको जोखिमलाई मध्यनजर गरी प्राथमिकता तय गरिएका कार्यक्रमहरूलाई केन्द्रित गरी निति तथा कार्यक्रमम र बजेटलाई गाउँसभाले सर्वसम्मतिले पारित गरेको हो ।

गाउँपालिका उपाध्यक्ष केशमायाँ मगरले पूर्वाधार, पर्यटन, कृषि,पशुपालन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्रमुख प्राथप्राथमिकताका साथ निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा बजेटमध्ये ७ करोड १६ लाख,बाँकी सबै पूँजीगततर्फको शीर्षकमा १३ करोड ३६ लाख रहेको छ । बजेटमा सरकारको सशर्त र निशर्त अनुदान, वित्तीय समानीकरण, राजश्व बाँडफाँट र अख्तियारी सारेर ल्याईएको रकम पनि समाबेश छ । समग्रमा म्याग्दीका स्थानीय तहहरुको बजेटमा परम्परावाद र कोरोना प्रभावको फ्यूजन देखिएको छ ।

Leave a Reply