म्याग्दीको बेनी नगरपालिकाले बुधबार ‘कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित सातौं नगरसभाबाट आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि साढे ५८ करोडको बजेट ल्याएको छ । नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले नगरसभामा कुल ५८ करोड ५५ लाख ४३ हजार दुईसय ६४ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेकी हुन् ।
नगरपालिकाले चालुतर्फ ३६ करोड ६१ लाख विनियोजन गरेको छ भने पुँजीगततर्फ १९ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । समपुरक कोष दुई करोड ५४ लाख ४३ हजार दुईसय ६४ रुपैयाँ रहेको छ । प्रस्तुत बजेटमध्ये पूर्वाधार विकासतर्फ पाँच करोड १५ लाख, सामाजिकतर्फ एक करोड ८६ लाख, आर्थिकतर्फ एक करोड २५ लाख, वन तथा विपद् व्यवस्थापनमा ९० लाख र सुशासन तथा संस्थागत विकासमा ३७ लाख रुपैयाँ रहेको उपप्रमुख बरुवालले जानकारी दिएकी छिन् ।
यसैगरी बेनपाको १, ४, ६ र १० नम्बर वडालाई प्रतिवडा ५५ लाखका दरले तथा २, ३, ५ र ९ नम्बर वडालाई ६० लाखका दरले र ७ तथा ८ नम्बर वडालाई ५० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ । नगरसभाले आन्तरिक आयतर्फ चार करोड तीनलाख २५ हजार रुपैयाँ सङ्कलन गर्ने प्रस्ताव गरेको छ । यसमध्ये सम्पत्ति, व्यवसाय दर्ता, घर तथा जग्गा बहाल, सवारीसाधन, विज्ञापन, मनोरञ्जनसहित अन्य करबाट गरी एक करोड ७६ लाख २५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
यसअघि नगरसभामा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आगामी आवका लागि आर्थिक, सामाजिक, वातावरण र विपद् व्यवस्थापन, पूर्वाधार, सुशासन, सेवा प्रवाह, अनुगमन एवं मूल्याङ्कनसम्बन्धी वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रममार्फत नगरपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्मको सडकलाई प्राथमिकतामा राखी बाह्रै महिना सञ्चालन हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । त्यस्तै प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत पूर्ण रोजगारी सिर्जना गरी समृद्ध नगरको सपनालाई साकार पारिने नीति लिइने जनाइएको छ ।
नदी, खोला, ताल तथा जलाधारको संरक्षण गरी पर्यावरणीय सन्तुलन कायम गरिनेछ भने नगर क्षेत्रमा कृषि क्षेत्रको आधुनिकीकरण र विविधिकरण गर्दै व्यावसायिकरणलाई जोड दिइने नीति कार्यक्रममा सम्बोधन गरिएको छ । त्यसैगरी ‘एक वडा, एक युवा क्लब, एक खेलमैदान’ कार्यक्रममार्फत युवा तथा बालबालिकाहरुको क्षमता विकास गरिने भएको छ । समग्रमा बेनी नगरपालिकाले आगामी आर्थिक वर्षमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुदलगायत विभिन्न क्षेत्रको विकासमा जोड दिने जनाएको छ ।
बुधबार प्रस्तुत बजेट, नीति तथा कार्यक्रममाथि आउँदो बिहीबार नगरसभामा छलफल गरी पारित गर्ने कार्यक्रम रहेको बेनी नगरपालिकाले जनाएको छ । सातौं नगरसभाको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सञ्चालन गरेका थिए ।

Leave a Reply