आफ्नो जन्मदिनको अवसर पारेर एक व्यक्तिले ज्येष्ठनागरिक आश्रममा रहेका वृद्धवृद्धाहरुलाई बुधबार निःशुल्क भोजन गराएका छन् । पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकका शिव जिसीले म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकलाई भोजन गराएका हुन्। आफू ३६औं वर्ष पुरा गरी ३७औं वसन्तमा प्रवेश गरेको शुभअवसरमा उनले गलेश्वरको ज्येष्ठनागरिक आश्रमका वृद्धवृद्धाहरुको आशिर्वाद लिँदै उनीहरुलाई भोजनग्रहण गराएको बताए । मिलनचोकका युवा जिसीले गलेश्वर ज्येष्ठनागरिक आश्रममा रहेका ज्येष्ठनागरिकसहित आश्रमका कर्मचारी तथा कालीगण्डकी वेदविद्याश्रम गलेश्वरका विद्यार्थी गरी कुल ५० जनालाई जन्मदिनको विशेष अवसरमा भोजनग्रहण गराएको आश्रमले जनाएको छ । उनले वृद्धवृद्धालाई भोजनग्रहणका लागि ज्येष्ठनागरिक आश्रमलाई नगद २० हजार रुपैयाँ सहयोग गरेका थिएभने वृद्धवृद्धा, आश्रमका कर्मचारी तथा विद्यार्थीलाई नगद एकसय रुपैयाँका दरले दक्षिणा समेत दिएका छन् । जन्मदिनको अवसरमा युवा जिसीले ज्येष्ठनागरिक आश्रम परिसरमा सुनकागती, गुलाब, पारिजात, धुपी, लालुपातेलगायत फलफुलका विरुवा समेत रोपेका छन् । यसअघि जिसीले गलेश्वर शिवालय मन्दिरमा पुगेर पुजाअर्चना गरी दर्शन गरेका थिए । ज्येष्ठनागरिकलाई निःशुल्क भोजनग्रहण कार्यक्रममा जिसीको धर्मपत्नी सुनिता बरुवाल जिसी, महिला अधिकारकर्मी जमुना आचार्यसहितको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष पण्डित भीमनाथ पराजुलीले ज्येष्ठनागरिक आश्रमलगायत वृद्धवृद्धाको व्यवस्थापनको विषयमा जानकारी गराएका थिए ।

Leave a Reply