गत जेठ महिनाको ३० गते बैदेशिक रोजगारको सिलसिलामा कुवेतमा गएर फर्किएकी बेनी नगरपालिका–२ की एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा बसेकी २६ बर्षिया महिलालाई कोरोना पुष्टी भएका हो ।

उनको स्वाब परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला मा असार ३ गते पठाइएको थियो । घरेलु कामदारको रुपमा कुवेत पुगेर फर्किएकी महिलामा कोरोना पुष्टीसँगै म्याग्दीमा भारतबाहेक तेस्रो मुलुकबाट फर्किएकोमा कोरोना पुष्टी हुनेको संख्या २ पुगेको छ ।

यसअगाडी यूएईबाट फर्किएका मालिका गाउँपालिका–३ का पुरुषमा समेत कोरोना देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई बताउनुभयो । ‘बिहिबार थपिएका संक्रमतिको ’कन्ट्याक्ट ट्रेसिङ हुदैछ,‘संक्रमतिलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ’ उनले भने ।

हालसम्म म्याग्दीमा देखिएका १४ जना संक्रमतिमा २ जना बाहेक सबै भारतबाट फर्किएका हुन् । दुई जना निको भएर घर फर्किएका छन् भने १२ जना आइसोलेसन कक्षमा हुनेछन् । यसैबीच खुल्लामञ्चमा रहेको आइसोलेसन कक्षमा २० जनाको क्षमता रहेको छ । हाल एक बालिका सहित महिला समेत आइसोलेसनमा छिन् ।

Leave a Reply