रघुगंगा गाउँपालिका-२, पखटोलमा ढुंगाको बान्नामा विद्यार्थीले पढिरहेका छन् । किताब–कपी लिएर हरेक दिन विद्यार्थी पुग्ने गर्दछन् ।

कोरोना भाइरसको जोखिमसँगै विद्यालय बन्द भएपछि घरमै बसेका विद्यार्थीको पठनपाठन प्रभावित भएपछि गाउँपालिकाले सुरू गरेको बैकल्पिक शिक्षा अन्तरगत स्थानीय शिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सघाउने स्वंयमसेवक समेत खटिएका छन् ।

विद्यालयका प्रधानाध्यापक तोरणबहादुर श्रेष्ठ समेत दैनिकजसो टोल–टोलमा विद्यार्थीको पठनपाठनको अवलोकन गर्ने गरेका छन् ।

विद्यालयले राममन्दिर,रानीचौतारी,खहरेखोला, सिरसिरे डाँडो, ढिकुरमुनी गरी पाँचवटा टोलमा शिक्षक खटाएको छ । ‘टोल–टोलका पढाई सुरु गरेपछि विद्यार्थीको संख्या बढेको छ,‘निजी विद्यालयबाट समेत विद्यार्थी आउन थालेका छन्’ प्रअ श्रेष्ठले भने ।

उनका अनुसार ८८ जना विद्यार्थीले पुस्तक लगिसकेको अवस्थामा गाउँमै रहेको निजी विद्यालयमा पढ्ने थप १० विद्यार्थीका अभिभावकले समेत पठनपाठन देखेर पुस्तक माग गरेका छन् ।

‘बैकल्पिक शिक्षाले अभिभावकमा उत्साह छाएको छ,‘हामीले पनि शिक्षण विधिलाई प्रभावकारी बनाइरहेका छौ’उनले भने । गत बर्षको चैत्र महिनामा बार्षिक परीक्षा सकिएलगत्तै सरकारले गरेको लकडाउनका कारण समस्यामा रहेका विद्यार्थीलाई गाउँपालिकाले हरेक विद्यालयमार्फत समुदायमै पुगेर बैकल्पिक शिक्षा सञ्चालनको वातावरण बनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बाहिरी जिल्लाबाट शिक्षक आउँदा कोरोनाको जोखिमले अभिभावक नै त्रसित हुनुपर्ने अवस्था आएकाले गाउँपालिका भित्रका सबै विद्यालयले आफ्नो कार्यक्षेत्रमा आवश्यकता अनुसार समुह बनाएर शिक्षण सिकाई अगाडी बढाउन पत्रचार समेत गरिएको बताए । उनले अधिकांस विद्यालयले अभ्यास समेत सुरु गरिसकेको बताए ।

लामो समयसम्म विद्यार्थी घरमै बस्दा पढ्ने संस्कृतिमा घट्ने भएकाले बैकल्पिक शिक्षालाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले बताए । ‘बैकल्पिक शिक्षाकै कारण गाउँबाट बाहिर गएका समेत धमाधम फर्किन थालेका छन्,‘यो विधिलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार अनुगमन समेत गछौं’ भण्डारीले भने । विद्यार्थीको पठनपाठनको अवस्था हेर्न पायक पर्ने ठाउँमा अभिभावक समेत पुग्ने गरेका छन्।

Leave a Reply