पर्वतमा  दुर्लभ किङ कोब्रा अर्थात राजगोमन (काली नाग) भेटिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको छ । बुधवार कटुबाचौपारीका स्थानीयहरुले उक्त सर्प भेटेपछि सर्प संरक्षक तथा सर्प बिषेशज्ञको टिमलाई खबर गरेका थिए ।

स्थानीयको खबर पश्चात आएको बिषेशज्ञको टोलीले उक्त सर्प पोथी कालीनाग भएको पुष्टि गरेका छन् ।
पोथी कालीनागले अहिले बच्चा जन्माउनका लागि फुल सेकेर बसेको अवस्था रहेको सर्प संरक्षक ऋषि बरालले बताउनुभयो ।

बरालका अनुसार उक्त सर्प पोथि कालीनाग भएको र अहिले त्यसलाई जुन ठाउँमा छ त्यहिँ ठाउँमा संरक्षण गरेर राख्नुपर्ने बताउनुभयो । फुल पारी सकेर बच्चा कोरल्नका लागि अहिले सेकेर बसेको कारण अहिले अन्यत्र स्थानान्तरण गर्न नहुने भन्दै कालीनागलाई त्यहि संरक्षण गरी राख्न थालिएको बताउनुभयो ।

यो सर्प संसारकै विषालु हुने हुदाँ बच्चा जन्माउनको लागि फुल सेकेर बसेको कारण पनि अहिले त्यसलाई अन्यत्र लान नहुने उहाँको सुझाब छ ।

उहाँले सोहि स्थानमा तारबेर लगाएर राख्ने र पछि बच्चा कोरलिसकेपछि मात्रै त्यसलाई संरक्षण क्षेत्रमा लगेर छोडिने बताउनुभयो । संरक्षण सुचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै विषालु यो राजगोमन अर्थात् पोथी कालीनागले समेत चिनिने यो किङ कोब्रा ११ फिट लम्बाइ तथा साढे ९ किलोग्राम तौलको रहेको छ ।

तराई क्षेत्रमा पाइने सो प्रजातिको सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने सर्प संरक्षक बरालले बताउनुभयो । साना र सामान्य खालका सर्प मात्र देखिने गरेको यस क्षेत्रमा ठूलो प्रजातिको सर्प घरआसपास देखिए पछि स्थानीयवासी त्रसित बनेका छन् ।

यस अघि पनि पर्बतको कुश्मा नगरपालिका १० पिपलटारी र वडा नंं. १२ ठुलीपोखरीमा किङ कोब्रा भेटिएको थियो । उक्तm किङकोब्रालाई सर्प संरक्षकहरुले नियन्त्रणमा लिई बस्तीभन्दा टाढाको पर्बतकै घना जङगलमा छोडिदिएका थिए ।

Leave a Reply