पश्चिम म्याग्दी जोड्ने बेनी- दरवाङ सडकखण्ड पानी पर्नासाथ हिलाम्मे हुन्छ । बेनपा–७ मंगलाघाटदेखि मालिका गाउँपालिका–६ दरबाङसम्म पुग्दा दर्जनौ स्थानमा हिलोको पहाड नै छ । ठाँउ–ठाउँमा मिनी पोखरी भेटिन्छ । जलमग्न सडकमा यात्रा गर्दागदैं यात्रुलाई बानी परेको छ ।

बेनी नगरपालिका ४,५, ६का साथै मंगला, मालिका, धवलागिरी र बागलुङ र रुमुक जिल्लाका बासिन्दाले समेत प्रयोग गर्ने सडकखण्डको हिलोमा दुई पाङ्ग्रे सवारीसाधनलाई जोगाउनै मुस्किल छ, चारपाङ्ग्रे फसेपछि निकाल्नै सकिदैन् । हिलो र साना पोखरीबाट जोगिनै हम्मेहम्मे पर्छ । तिब्र गतिमा सडक स्तरउन्नति र कालोपत्रे हुने सपना देखेका सर्वसाधारणले सडकमै खोलो बग्ने, माथिबाट पहिरो खस्न थालेपछि सपना जस्तै लागेको छ ।

ठेकेदारले सडकको काम गरेजस्तै गरेपनि स्थानीयलाई छोडेर भागेजस्तै लाग्छ । बगुवाखोला देखि सिंगाको ठाडोखोलासम्मको अवस्था बेहाल छ । स्काभेटरले काम गदै अगाडी बढ्दा पछाडी जमिन भत्किएको छ । जलमग्न सडकका कारण सवारी आवागमन प्रभावित हुने गरेको छ । खोलो र सडक छुट्याउन नसकिने अवस्था छ । हिलाम्मे सडकमा गोरु र खेताला लगेमा करिब एकदिनसम्म रोपाई समेत गर्न सकिने मेलो छ । ‘सडक हिलाम्मे छ, माथिबाट भत्किएको छ’ बगुवाखोलाका स्थानीय राम श्रेष्ठले बेनीअनलाइनलाई भने । उनले सडकको अवस्था देखेर स्थानीय आजित भएको बताए । उनले सडकमा खाल्डाखुल्डी धेरै भएको बताउँदै पानी पर्नासाथ खाल्डाखुल्डी पानीले भरिने गरेको बताए ।

‘खाल्डाखुल्डीमा ताल बनेको छ,‘ दुर्घटनाको जोखिम बढाएको छ’ उनले भने । ठेकेदारले यो सडकमा काम नै गरेका छैनन्। उनले सम्बन्धित कार्यालयका हाकिमलाई राम्रो देखाएका छन्, आश्वासनले जनप्रतिनिधिलाई चित्त बुझाएका छन् तर सडक बनाएका छैनन् ।

निर्माणको जिम्मा लिएको लामा समानान्तर जेभीले सडक बेहाल बनाएको छ । निर्माणलाई तिब्रता दिनुपर्नेमा आलटाल गरेको छ । २४ किलोमिटरको सडकखण्ड अन्र्तगत पहिलो चरणमा १४ किलोमिटर सडक स्तरउन्नती गरी कालोपत्रे गर्ने सडक डिभिजन कार्यालय बागलुङले लामा समानान्तर जेभीसंग ४४ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरे यता सडकमा मुस्किलले २० जना कामदार, दुईवटा मेसिनले मात्रै देखिन्छन् । सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धतालाई ठेकेदारले कोरोनाको जोखिमलाई बाहना बनाउन सजिलो भएको छ । सडकखण्ड अन्र्तरगत ११ मिटर फराकिलो सडक सात मिटर चौडाइमा कालोपत्रे गरिने छ ।

पहिलो चरणमा बेनी देखी बावियाचौरसम्म सडक कालोपत्र हुने सम्झौतामा उल्लेख छ । पश्चिम म्याग्दी संगै बागलुङ र रुकुम जिल्लाका जनतालाई समेत सहज हुनु गरी मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकमा रुपमा समेत प्रयोग गर्ने तयारी भएको बताइएको छ । सडक विस्तार तथा स्तरउन्नतीले हाल करिव साढे दुई घण्टा लाग्ने यात्रा अवधि छोटिएर करिव ३५ मिनेटमा पुरा गर्न सकिनेछ ।

Leave a Reply