बेनी-पाखापानी सडकको अर्थुङ्गेस्थित आँपारुख खण्डमा हिलाम्मे सडकमा दैनिकजसो पैदलयात्रुलाई एउटै चिन्ताले सताउँछ,‘हिँडदा चिप्लिएर लडिएला’ । बेनीबजारबाट बेनी नगरपालिका साथै मंगला र रघुगंगा गाउँपालिकका विभिन्न वडाका सर्वसाधारणले दैनिक प्रयोग गर्ने सडकमा सबैभन्दा धेरै सास्ती पदैलयात्री र मोटरसाइकलमा यात्रा गर्नेलाई छ । बेनीबाट फर्किने क्रममा ढलान गरेको सडक सकिएलगत्तै अर्थुङ्गे खण्डमा विगतका बर्षमा भन्दा चारगुणा धेरै हिलो छ । बर्खाको समयमा हिलो हुने भएपनि सडकखण्डको सबैभन्दा जोखिम स्थानमै हिलोले सडक छोपेपछि दैनिक यात्रुलाई चिप्लिएर लड्ने पीरले सताउने गरेको जामुनाखर्क माविका शिक्षक गणेश केसीले बताए । ‘अघिल्लो बर्ष यस्तो थिएन्, अहिलेको अवस्थामा हिड्नै सकिदैन’ उनले भने । रातो माटो भएकाले चिप्लो सडकमा दुर्घटनाको जोखिम अत्याधिक छ । जथाभावी खनेर भद्रगोल बनाइएका सडकमा हिलोले गर्दा पैदल हिँड्न नसकिने अवस्था छ ।नजिकै रहेको नेपाली सेनाको ब्यारेकबाट समेत दैनिक सवारीसाधन आवतजावत गर्ने गरेको अवस्थामा निजी भवन र वडा कार्यालयको भवन बनाउने क्रममा समेत माटोले सडक हिलाम्मे भएको हो । हिउँदमा धुलो र वर्षातमा हिलोले गर्दा समस्या रहेको अर्थुङ्गे सामुदायिक यूवा क्लवका अध्यक्ष नारायण पौडेलले बताए । ‘यो समस्याले आजित भएका छौ, समस्या समाधान गर्ने प्रयास प्रभावकारी नै छैन’ उनले भने । सडकखण्डको समस्या समाधानका लागि स्थानीय यूवा यादव सुबेदी लगायतको टोलीले नेपाली सेनाको ब्यारेकमा समेत पुगेर त्यहाँको पानी तर्काउने लगायतको काम गर्ने प्रयास गरेको समेत उनले बताए । अर्थुङ्गेबाट पैदल तथा मोटरसाइकलमा दैनिकजसो जागिरका सिलसिलामा समेत बेनी आउने गरेकाहरुले सडकको समस्या समाधानका लागि अनुरोध गर्दा सम्बन्धित निकायले कानमा तेल हालेर बसेको गुनासो समेत गर्ने गरेका छन् ।‘यहाँ जोगिएर गन्तब्यमा पुग्नै मुस्किल छ,‘पानी र हिलो उछिट्टिँदा त्यसको मार पैदल यात्रुले खेप्नुपर्ने बाध्यता छ’ गरिका विकास बैंक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले भने । सडकको हिलो पन्छाएर, पानीको ब्यवस्थापन गरेमा सहज हुने बताए ।सडकमा काम गदैं गरेका ठेकेदारले समेत समयमै काम सम्पन्न गर्न नसक्दा थप सास्ती भएको छ । यता बेनी नगरपालिकाले भने सडकको समस्या समाधानका लागि प्रयास गरेको बताउँदै आएको छ ।

Leave a Reply