म्याग्दीमा थप जनामा डेंगु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ अर्मनको छिस्वाङकी ६७ बर्षिया बृद्धामा डेगु संक्रमण देखिएको हो । एक्कासी टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बृद्धाको शरीर समेत सुन्निएको अवस्थामा थप उपचारका लागि पोखरा रिफर गरिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुबेदीले बताए ।

उनका अनुसार महिलाको अन्य रोगको समेत चेकजाँच गर्नुपर्ने भएकाले पोखरा पठाइएको हो । बृद्धासँगै म्याग्दीमा पछिल्लो बैशाख यता १६ जनामा डेंगु देखिएको छ । यसअगाडी समेत अर्मनको छिस्वाङमा एक पुरुषमा डेंगु देखिएको थियो ।

म्याग्दीमा बेनी नगरपालिकामा ३ महिला, ४ पुरुष, मंगला गाउँपालिका ४ महिला, ३ पुरुष, रघुगंगा गाउँपालिका १, अन्नपूर्ण १ मा डेंगु संक्रमण देखिएको छ । त्यस्तै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाकी एक बृद्धाको अस्पतालमा उपचारको क्रममा डेंगु पोजेटिभ देखिएको थियो ।

म्याग्दीमा गतबर्ष समेत मंगला र बेनी नगरपालिकामै धेरै डेंगु संक्रमित भेटिएकाले खोज र नष्टको अभियानलाई तिब्रता दिनुपर्ने बेनी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले बताए ।

एडिस जातको लामखुट्टेको टोकाइबाट संक्रमण फैलिने डेंगुको पछिल्लो तथ्याङ्क अनुसार यसबर्ष नेपालमा धेरै संक्रमित भेटिएको जिल्लाको अग्रस्थानमा छ भने गण्डकी प्रदेशमा सबैभन्दा धेरै म्याग्दीमा छन् ।

Leave a Reply